२९ औँ महानगर दिवसको अवसरमा शिक्षामा विविध कार्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २९ औँ महानगर दिवसको अवसरमा शिक्षा विभागको आयोजनामा विविध कार्यक्रमहरु सम्पन्न गरिरहेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागको आयोजनामा महानगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुको लागि मेरो सपनाको महानगर’ शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३२ जना शिक्षकहरुले सहभागिता जनाएका थिए । निर्णायक मण्डलबाट कविताको भाव, भाषा, शुद्धता र प्रस्तुति शैलीलाई आधार मान्दै १५० पूर्णाङ्कमा मुल्याङ्कन गरिएको थियो ।

प्रतियोगितामा सहभागिमध्येबाट १२७ अंक सहित प्रथम भ्याली भ्यु स्कुलका शिक्षक योगराज पाण्डेले नगद रु.१५ हजार, प्रमाणपत्र, ११४ अंकसहित द्धितिय हुने जनकल्याण माविका शिक्षक रमा घिमिरेले नगद रु.१० हजार, प्रमाणपत्र, १११ अंकसहित तृतीय हुने संस्कृत मावि रानीपोखरीका शिक्षक माधव लामिछानेले नगद रु.७ हजार, प्रमाणपत्र र १०९ अंकसहित सान्त्वना स्थान हाँसिल गर्ने सहयोगी पाठशालाका गोपाल बहादुर राणाले नगद रु.५ हजार, प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगि शिक्षकहरुको मुल्याङ्कन प्रा.डा. देवी नेपाल, शिक्षा विभागका निर्देशक डा. गणेश प्रसाद भट्टराई र डा. रजनी ढकालले गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा अधिकारी सिताराम कोइरालाले शिक्षकहरुको सिर्जनशील क्षमताको विकास गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागि विद्यालयका शिक्षक एवं स्रोता विद्यार्थीहरुलाई शिक्षा अधिकारी कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरि महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि क्षेत्रीय स्तरका ‘आधुनिक प्रविधिको प्रयोग वरदान कि अभिशाप’ शीर्षकमा आधारभूत र माध्यमिक तहमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २१ गते भएको क्षेत्रीय स्तरको आधारभूत र माध्यमिक तहको वादविवाद प्रतियोगिता जनप्रभात मावि केन्द्र, गुह्येश्वरी मावि केन्द्र, तरुण मावि केन्द्र, पद्मकन्या विद्याश्रम मावि केन्द्र र पशुपति मित्र मावि केन्द्रमा सम्पन्न भएका छन् । पाँचओटै केन्द्रमा भएको प्रतियोगितामा आधारभूत तथा माध्यमिक तहमा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीहरुलाई क्रमशः नगद रु.१० हजार, नगद रु.७ हजार, नगद रु.५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पाँचवटै क्षेत्रीय विद्यालयहरुबाट उत्कृष्ट छनौट भएका आधारभूत र माध्यमिक तहका १५–१५ जना प्रतियोगि विद्यार्थीहरुको वादविवाद प्रतियोगिता शिवपुरी मावि, महाराजगञ्जमा सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई जनही रु.१५ हजार, रु.१० हजार, ७ हजार र रु.५ हजार नगद प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
शिवपुरी माविका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा भएका दुवै कार्यक्रमको सहजीकरण काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत मोतिप्रसाद भट्टराई र लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।

२९ औँ महानगर दिवसकै अवसरमा शिक्षा विभागको आयोजनामा मंसिर २६ गते कन्या मन्दिर मावि न्यौखामा महानगरमा कार्यरत महिला शिक्षकहरुको म्युजिकल चियर प्रतियोगिता र आधारभूत तह कक्षा (६–८) मा अध्ययनरत छात्राहरुको चम्चादौड प्रतियोगिता आयोजना हुने शिक्षा अधिकृत भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक महिला शिक्षक र आधारभूत तह कक्षा (६–८) का १–१ जना छात्रालाई सहभागि गराउन शिक्षा अधिकृत भट्टराईले सूचना जारी गर्दै अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.