महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शनी

बनेपा । काभ्रेमा महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा जनचेतनामूलक सडक नाटक प्रदर्शनी गरिएको छ । नाटक जिल्ला समन्वय समिति काभ्रेको आयोजना गरिएको थियो । बनेपा नगरपालिका वडा नं.७ चारदोबाटोमा प्रदर्शनी गरिएको नाटकले महिलालाई छोरा नपाएको भनेर गरिने हिँसा, रजस्वालाको समयमा गरिने अन्ध व्यवहार लगायतका समुदायमा व्याप्त महिलासँग सम्बन्धित हिंसा देखाउने प्रयास गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख दीपक कुमार गौतमले हिंसा नगर्ने प्रतिवद्धता आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । जिसस प्रमुख गौतमले जिल्लालाई हिंसा नहुने अर्थात हिंसा कम भएको जिल्लाका रुपमा चिनाउन सबै क्षेत्रको उत्तिक्कै भूमिका आवश्यक हुने बताए । कार्यक्रममा चर्चित कलाकार आयुषा गौतम एवं बनेपा स्थित विद्यालयका विद्यार्थीहरुले सन्देशमुलक सांगितिक प्रस्तुती गरेका थिए ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान मनाउने गरिन्छ । महिला, बालबालिकामाथि हुने हिंसा कमी ल्याउन र समाजमा सकारात्मक परिवर्तनको लागि यो दिवस संयुक्त राष्ट्रसंघले सन २००८.देखि मनाउन सुरुवात गरेको हो ।

कार्यक्रममा जिसस प्रमुख दीपक कुमार गौतम, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, चौरी देउराली गाउँपालिका प्रमुख रेणुका चौलागाई, बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिला, शिक्षिका, विद्यार्थी, स्थानीय, सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.