गौतमबुद्ध विमानस्थल सरकारकै कारण सञ्चालन हुन सकेनः पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको बेवास्ताका कारण गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरूले उडान नगरेको बताएका छन्।

निर्माण सम्पन्न भएर उद्घाटन गरिएको डेढ वर्षसम्म पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको छैन ।

बिहीबारदेखि बुटवलमा सुरू भएको ‘लुम्बिनी एक्स्पो एवं अन्तर्राष्ट्रिय व्यापार मेला’ उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारबाट कुनै कामको अपेक्षा गर्न नसकिने बताए।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै कारण सञ्चालन हुन सकेको छैन। सिंगो सरकार, सम्बन्धित मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणमा रहेका जिम्मेवार व्यक्तिहरूले विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्ने पौडेलले बताए ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद समेत रहेका उपाध्यक्ष पौडेलले राज्यको धेरै लगानी र मेहनत खर्च गरेर बनाइएको विमानस्थल सञ्चालन गरेरै छाड्ने दाबी गरे।

‘हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो यो। व्यवसायीहरूलाई चिन्ता नलिन आग्रह गर्छु। यसलाई आकर्षक विमानस्थलका रूपमा अघि बढाएरै छाड्छौं,’ उनले भने।

नेता पौडेलले वर्तमान सरकार सुशासन, विकास निर्माण लगायत हरेक क्षेत्रमा असफल भएको दाबी गर्दै असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए। निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणमा पनि ढिलासुस्ती र लापरबाही भए पनि सरकारमा रहेकाहरूले तमासा हेरेर बसेको आरोप उनले लगाए।

रूपन्देही ब्यापार संघ र आयोजक- पर्यटन प्रवर्द्धन एवम् तालीम गोष्ठी उपसमितिको आयोजनामा भएको कार्यक्रममा पौडेल प्रमुख वक्ताको रुपमा आमन्त्रित थिए ।
कार्यक्रममा बुटवलको विकास र समृद्धिका सन्दर्भमा सार्थक छलफल भएको नेता पौडेलले जानकारी दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.