पुन अप्ठ्यारोमा राहुल गान्धी

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पुनः एक पटक आफ्नो अभिव्यक्तिका कारण घेरिएका छन् । सत्तारुढ दल भाजपाले उपराष्ट्रपति तथा राज्यसभाका सभापति जगदीप धनखड्लाई अपमानित गरेको मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई घेरिरहेका बेला अदालतले पनि पुनः एकपटक उनको अभिव्यक्तिलाई लिएर अप्ठ्यारोमा पारेको छ ।

दिल्ली उच्च न्यायालयले बिहीबार कांग्रेस नेता गान्धीमाथि आवश्यक ‘एक्सन’ लिन निर्वाचन आयोगलाई निर्देश गरेको छ । केही अगाडि उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई ‘जेबकतरा’ (पाकेटमार) संज्ञा दिएका थिए । उद्योगपती गौतम अडानीलाई जोडेर गान्धीले मोदी र शाहमाथि कटाक्ष गर्दै त्यस्तो भनेका थिए । उनको उक्त अभिव्यक्ति गलत भएको भन्दै अदालतले चुनाव आयोगलाई जाँच र कारबाहीको आदेश दिएको हो ।

एक महिना अगाडि २२ नोभेम्बरमा गान्धीले आफ्नो भाषणमा मोदीलाई ‘पनौती’ र ‘जेबकतरा’ को संज्ञा दिएका थिए । ‘पीएमको मतलब पनौती मोदी हो, मोदी टीवीमा आए भने हिन्दु–मुस्लिम गर्छन । र, कहिले काँही क्रिकेट मैचमा पनि पुग्छन्, र उनी पुगेपछि भारतले मैच हार्छ,’ उनको भाषण थियो । मोदी क्रिकेट विश्व कपको फाइनल हेर्न अहमदावाद स्टेडियम पुगेका थिए ।

त्यस्तै, मोदीले मानिसहरूको ध्यान बाँड्ने र अर्को आएर आम मानिसको पाकेट मार्ने गरेको उनको अर्को अभिव्यक्ति थियो । उच्च पदमा बसेका व्यक्तिविरुद्ध गम्भीर आरोप लगाएर भाषण दिएको भन्दै गान्धीको उक्त अभिव्यक्तिविरुद्ध अर्को दिन नै अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ८ सप्ताह भित्र कानुनअनुसार गान्धीमाथि आवश्यक कारबाही गर्न आयोगलाई निर्देश दिएको हो ।

मोदी थर भएका सबै चोर किन हुन्छन् ? भन्ने अभिव्यक्ति दिएको आरोपमा केही महिना अगाडि सुरत अदालतले उनीमाथि मानहानीको कारबाही गरेको थियो । त्यस घटनामा उनको सांसद सदस्यता गुमेको थियो । माथिल्लो अदालतको आदेशबाट उनको सांसद सदस्यता पुनर्वाहाली भयो ।
सत्तारुढ भाजपाले उपराष्ट्रपति धनखड्लाई विपक्षी दलका सांसदहरुले अपमानित गरेको विषयमा पनि गान्धीलाई जोडेर उनीमाथि प्रश्न उठाइरहेका छन् । लोकसभा र राज्यसभाबाट विपक्षी दलका १ सय ४३ जना सांसद निलम्बित गरिएका छन् । विपक्षी सांसदहरुले निलम्बन फिर्ता लिनुपर्ने माग गर्दै संसद भवन परिसरमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

त्यही क्रममा बुधबार तृणमुल कांग्रेसका सांसद कल्याण बनर्जीले धनखड्को नक्कल(मिमिक्री) गरेका थिए । त्यसको भिडियो गान्धीले बनाइरहेको भिडियो मिडियाहरूले देखाएको छ । भाजपाले उपराष्ट्रपति जस्तो संवैधानिक उच्च पदमा रहेका व्यक्तिको कुनै सांसदले नक्कल गर्नु र त्यसलाई प्रोत्साहित गर्ने गरी कांग्रेसका वरिष्ठ नेता गान्धीले भिडियो बनाउने विषयलाई ठूलो मुद्दा बनाएको छ । उपराष्ट्रपतिको अपमान विरुद्ध देशैभर प्रदर्शन गर्ने जनाएको छ ।

भाजपाले उक्त विषयलाई उपराष्ट्रपतिको जातिसँग पनि जोडेको छ । संसदमा संसदीय कार्यमन्त्री प्रल्हाद जोशीले विपक्षी सांसदले अशोभनीय आचारण देखाएको भन्दै जाट समूदायलाई प्रतिनिधित्व गर्ने किसान पुत्रको अपमान गरिएको भनेका छन् । उनले पिछडावर्ग र गरिब परिवारबाट आएका प्रधानमन्त्री मोदी र जनजातिबाट आउने राष्ट्रपति द्रौपदी मुर्मुको पनि विपक्षीले अपमान गर्दै आएको बताएर उक्त घटनालाई जातिगत अपमानसँग जोडेका छन् । उपराष्ट्रपति धनखड्को नक्कल उतारिएको घटनाप्रति राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन् । सत्तारुढ नेता र मन्त्रीहरु पालैपाले धनखड्लाई भेटेर दुःख व्यक्त गरिरहेका छन् । भाजपाले उक्त मुद्दामा विपक्षी दल र नेता राहुल गान्धीलाई घेर्ने पूरा तयारी गरेको छ ।

कांग्रेस नेता गान्धीले भने विपक्षी सांसदहरुलाई सदनबाट बाहिर निकालिएको घटनालाई दबाउन सरकारले अनावश्यक ढंगले उपराष्ट्रपतिको अपमानको मुद्दाको विषय उचालिरहेको बताएका छन् । मिडियासँग बोल्दै उनले विपक्षीलाई सदनबाट बाहिर निकालिने घटनाको मिडियामा चर्चा नहुनु तर उपराष्ट्रपतिको नक्कल गरिएको घटनालाई उचलिाएको बताएका छन् । उनले आफूले सांसदहरुको प्रदर्शनको भिडियो बनाएको तर, त्यसलाई मिमक्रीको भिडियो बनाएको भनेर प्रचार गरिएको भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.