खेलकुद बीमा कार्यान्वयनमा

काठमाडौं । खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद क्षेत्रमा नयाँ अध्याय सुरु भएको बताएका छन् ।

उनले खेल संघको संस्थागत विकास सुरु भएको ७६ वर्ष भएपनि खेलकुद बीमा सम्बन्धि कुनै नीतिगत व्यवस्था हुन नसकेको बताउँदै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएकोमा खुसी ब्यक्त गरेका हुन् । घिसिङले पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वन गर्ने घोषणा गरेका थिए । उनले कार्यभार ग्रहण गरेको दिननै बीमालेख सम्बन्धि फाइलमा हस्ताक्षर गरेका थिए । घिसिङले आफुले घोषणा गरे अनुसारको खेलकुद बीमा ऐन कार्यान्वयनमा आएको उल्लेख गरेका हुन् ।

खेलकुद बीमालेख कार्यान्वयनमा आएसँगै खेल्ने क्रममा खेलाडी तथा खेलकर्मीको चोटपटकदेखि दुर्घटना समेतको जोखिम न्युनीकरणमा सहयोग पुग्नेछ । ‘खेलाडी तथा खेलकर्मीको पूर्ण रुपमा सुरक्षा गर्ने उद्धेश्यका साथ बीमालेख जारी भएको छ । बीमालेखले खेलाडीमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउनेछ ।’ सदस्य सचिव घिसिङले भने ।

पछिल्लो समय खेल प्रतियोगितामा खेलाडीको बीमा गर्न सुरु गरेपनि बीमालेख सम्बन्धि स्पष्ट नीतिको अभाव रहेको थियो । बीमालेख जारी भएपछि सबै प्रकारका प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण बन्ने सदस्य सचिव घिसिङले बताए ।

बीमालेखले दुर्घटना भए तत्काल र १ सय ८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै पार्थिक शरिर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थाई पूर्ण असक्तता सम्बन्धि व्यवस्था गरेको छ । बीमालेखले खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरि तीन भागमा वर्गिकरण गरेर सोही अनुसारको व्यवस्था ऐनमा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.