आइजिपी रनिङ ट्रफी सम्पन्न, सैनिक महाविद्यालयलाई उपाधि

 

बनेपा । नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल प्रहरीका स्कूलहरूले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत प्रतिभाको पहिचान गर्दै त्यसलाई फलाउने र फुलाउने वातावरणलाई प्राथमिकता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो । विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा ३-० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर टीम प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।

मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७ टीमको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.