ड्राइभिङ लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न अब यातायात कार्यालय जानु नपर्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण गर्न यातायात व्यवस्था कार्यालय नगए पनि हुने व्यवस्था लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा यातायात व्यवस्था विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब सेवाग्राहीले सम्बन्धित यातायात व्यवस्था कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग पनि स्वास्थ्य परीक्षण गर्न सक्ने जनाइएको छ । स्वास्थ्य परीक्षण गर्ने काम सूचीकृत गरेर अनलाइनबाटै गराउन सकिने र  स्वास्थ्य परीक्षणको रिपोर्ट अनलाइनबाटै रिपोर्ट हालेपछि सेवाग्राही यातायात कार्यालयमा आइरहन नपर्ने यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

नयाँ सेवाग्राहीले प्रणालीमा लगइन भएपश्चात सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्दा निम्नानुसारको प्रक्रिया अवलम्बन गरी आवेदन गर्नुपर्नेछ:

  • – अनलाइन प्रणालीमा लगइन भएपछि आफ्नो युजर अकाउन्टको ड्यासबोर्डमा रहेको ‘नयाँ लाइसेन्सको आवेदन’ बटनलाई क्लिक गर्नुपर्छ ।
  • – त्यसपछि मेडिकल चेकजाँचको ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने र ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प देखा पर्छ । त्यसमध्ये एउटा विकल्प छनौट गर्नुपर्छ । प्रदेशले कार्यालय बाहिर रहेर सेवा दिने चिकित्सक सूचीकृत नगरेसम्मका लागि कार्यालयमा नै गई मेडिकल जाँच गर्ने विकल्प मात्र उपलब्ध हुनेछ ।
  • – ‘म सम्बन्धित यातायात व्यवस्था कार्यालयमा गई स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रका लागि आवेदन पेश गर्न चाहेको अफिस र कार्यालय जाने मिति (Appointment Date) छनौट गरेर पेश गरेपछि निजको आवेदन पेश भई ‘Reference Number’ प्राप्त हुन्छ।
  • – ‘Reference’ प्राप्त भएपछि नम्बर आवेदन फारम डाउनलोड गरी सक्कल नागरिकता सहित कार्यालयमा जानुपर्नेछ । कार्यालयमा निजले जैविक विवरण दिई स्वास्थ्य परीक्षण समेत गराउनुपर्नेछ ।
  • – ‘म कार्यालय बाहिरका सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्न चाहन्छु’ भन्ने विकल्प छनौट गरेका आवेदकले निम्नानुसारको प्रक्रिया अवलम्बन गर्नुपर्नेछ ।

क) सवारी चालक अनुमतिपत्रको आवेदन गर्न चाहेको र नियमानुसार आफू योग्य भएको वर्ग छनौट गरी सवारी चालक अनुमतिपत्रको लागि आवेदन पेश गर्न चाहेको कार्यालय र चिकित्सकको नाम ठेगाना छनौट गरी पेश गर्नुपर्छ । त्यसपछि चिकित्सकको विस्तृत विवरण प्राप्त हुन्छ ।

ख) आवेदकले चिकित्सकसँग भेट गरी स्वास्थ्य परीक्षण गराउनुपर्छ । चिकित्सकले नियमानुसार सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी अनलाइन आवेदनको मेडिकल चेकजाँच प्रणालीमार्फत स्वस्थ/फिट वा अस्वस्थ अनफिट भएको जनाउनुपर्नेछ । साथमा मेडिकल रिपोर्ट समेत अपलोड गर्नुपर्नेछ ।

ग) मेडिकल जाँचमा उत्तीर्ण सेवाग्राहीले नतिजाको जानकारी प्राप्त भएपश्चात पुनः आफ्नो युजर एकाउन्ट प्रोफाइलमा लगइन गरी कार्यालय जाने मिति छनोट गरी आवेदन गर्नु पर्नेछ । त्यसपछि ‘Barcode’ सहितको ‘Reference Number’ प्राप्त हुन्छ । सेवाग्राहीले उक्त दर्ता फारम डाउनलोड गरी (फारम तथा सकल नागरिकता साथमा लिई) कार्यालयमा जानुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.