धुलिखेलमा प्याब्सनको बागमती प्रदेश स्तरीय नृत्य प्रतियोगिता

धुलिखेल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) बागमती प्रदेशद्वारा धुलिखेलमा बागमती प्रदेश स्तरीय प्याब्सन अन्तरविद्यालय लोक नृत्य प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा प्रदेश भित्रका १४ वटा विद्यालय सहभागि भएका थिए ।

प्रतियोगितामा काठमाडौ जिल्लाको एलिन मेमोरियल स्कुल प्रथम भएको छ । त्यस्तै धादिङ जिल्लाको एडभान्स एकेडेमी दोश्रो भएको छ । तेश्रो स्थानमा काभ्रेपलाञ्चोक जिल्लाबाट सहभागिता जनाएको विद्यासागर स्कुल बनेपा र धादिङकै सक्सेस एकेडेमी भएका छन् । भने काभ्रेपलाञ्चोक जिल्लाको गोल्डेन सिद्धार्थ एकेडेमीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्याब्सनले आयोजना गरेको पालिका स्तरीय प्रतियोगिताबाट उत्कृष्ट भएकाहरुको जिल्ला स्तरीय प्रतिस्पर्धा गराईएको थियो । सोहि प्रतिस्पर्धामा उत्कृष्ट भएकाहरुबाट प्रदेश स्तरमा प्रतिस्पर्धाका लागि सहभागि गराईएको थियो ।

बागमती प्रदेशमा उत्कृष्ट भएकाहरुले राष्ट्रिय स्तरको प्रतियोगितामा सात वटै प्रदेशका उत्कृष्टहरुसँग आगामी फाुगन महिनामा हुने प्रतिस्पर्धामा सहभागि हुनेछन् ।बागमती प्रदेश स्तरीय प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्लाबाट विद्या सागर स्कुल बनेपा र गोल्डेन सिद्धार्थ एकेडेमी श्रीखण्डपुरले सहभागिता जनाएका थिए ।

प्रतियोगिता प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले संसारभरि लोकनृत्य हाम्रो पहिचान भएको बताए।  मन्त्री महर्जनले लोकनृत्य लोप हुँदै गएको अवस्थामा प्याब्सनले गरेको यस्तो कार्यक्रमको प्रशंसा गरे । बागमती प्रदेशकको संस्कृति जोगाउन मन्त्रालयको तर्फबाट आगामी दिनमा यस्ता कार्यक्रमलाई बजेटमा नै व्यवस्था गर्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य क्षिरिङ लामा, जिल्ला समन्वय समिति प्रमुख काभ्रेका प्रमुख दिपकुमार गौतम, प्याब्सन केन्द्रिय उपाध्यक्ष थकितकुमार गुरुङ्ग, केन्दिय उपमहासचिव भिमसेन केसी, केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, विद्यार्थी कल्याण परिषद् निर्देशनालयका निर्देशक राजेन्द्र जोशी, काठमाडौ विश्वविद्यालय सामुदायिक विस्तार महाशाखाका निर्देशक किशोर खनाल, काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न श्रेष्ठ, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल लगायत प्याब्सनका विभिन्न तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्याब्सन काभ्रे अध्यक्ष श्याम बहादुर भुजेलले राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.