विपन्न विद्यार्थीलाई नि:शुल्क पोशाक वितरणका लागि सवा ३२ लाख

झापा । बिर्तामोड नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै बालबालिकाको पोशाकमा पहुँच पुर्याउने उद्देश्यले नि:शुल्क पोशाक वितरण गर्दै आएको छ । नगरपालिकाले विपन्न तथा गरिब परिवारका बालबालिकालाई नि:शुल्क पोशाक उपलब्ध गराएको हो ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत शिशु कक्षादेखि ५ कक्षासम्मका विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको शिक्षा शाखा अधिकृत दिनेशप्रसाद आचार्यले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि गरिब तथा विपन्न परिवारका बालबालिकालाई पोशाक निशुल्क वितरण गरिएको छ ।

‘पोशाक वितरणले अभिभावकलाई पनि सहज भएको छ । विद्यार्थीहरुको पोशाकमा एकरुपता आएर पठनपाठनमा समेत अनुकुल वातावरण मिलेको छ,’ उनले पालिकाखबरसँग भने ।

नगरपालिकामा २० वटा सामुदायिक विद्यालय छन् भने ३ हजार ६०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । नगरपालिकाले पोशाक नभएको कारण विद्यार्थीहरु विद्यालय नआउने समस्या समाधान गर्ने उद्देश्यले पोशाक वितरण सुरु गरेको शाखा अधिकृत आचार्यले जानकारी दिए ।

चालु आर्थिक वर्षमा पोशाक वितरणका लागि नगरपालिका टेण्डरको प्रकृयामा रहेको उनले बताए । उनले भने, ‘३२ लाख २४ हजारमा विद्यालय पोशाक खरिद गर्न एउटा संस्था टेण्डरमार्फत छनौटमा परेको छ । सम्झौता भने गर्न बाँकी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.