एनएसएल सुपर लिगको प्लेअफ समीकरण, ४ खेलपछि लाग्नेछ च्याम्पियनको टुङ्गो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को लिग चरण धेरै रोमाञ्चक भएको छ । अलिकति ड्रामा, एक्साइटमेन्ट, खेलाडीबीच कडा प्रतिस्पर्धा र केही अनपेक्षित नतिजाका कारण लिग चरण रोमाञ्चक बनेको थियो । एक महिनाअघि एनएसएलको दोस्रो संस्करण सुरु भएको हो । ९ टोलीले प्रतिस्पर्धा गरेको एनएसएलको लिग चरणको ३६ खेलपछि शीर्ष ४मा रहेर प्लेअफ खेल्ने टोलीको टुङ्गो लागेको छ । जसमा छन् पोखरा थण्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी । रमाइलो संयोग के छ भने पोखरा बाहेक बाँकी तीन टिम लगातार दोस्रो पटक प्लेअफ पुगेका हुन् ।

यसअघि २०७८ मा भएको पहिलो संस्करणमा काठमाडौंले उपाधि जितेको थियो । धनगढी उपविजेता बन्दा ललितपुर तेस्रो भएको थियो । त्यसबेला बुटवल-लुम्बिनी पोखरा थण्डर्सलाई गोल अन्तरमा पछि पारेर प्लेअफ पुगेपनि एलिमिनेटरमा हारेपछि चौथो भएको थियो । तर, यसपटक पोखरा लिगमै शीर्ष स्थानमा रहेर प्लेअफ पुग्ने पहिलो टोली बनेको थियो । अन्तिम दिन साविक विजेता काठमाडौंसहित ललितपुरले पनि प्लेअफमा स्थान पक्का गरे ।

यस सिजन प्लेअफमा पुग्ने टोलीको अन्तिम टुङ्गो अन्तिम खेलको नतिजापछि नै लागेको थियो । पोखरा ८ खेलबाट ४ जित तीन बराबरी र एक हारसहित १५ अंक जोडेर शीर्ष स्थानमा रह्यो । धनगढीले ८ खेलमा तीन जित चार बराबरी र एक हारको नतिजाबाट १३ अंक जोडेर दोस्रो भयो । अन्तिम खेल जित्दै तेस्रो जित हात पारेको काठमाडौं तीन जित ३ बराबरी र दुई हारको नतिजाबाट १२ अंक जोडेर तेस्रो भयो ।

अन्तिम दुई खेल लगातार हारेपनि भाग्यमानी बनेको ललितपुर दुई जित चार बराबरी र दुई हारको नतिजाबाट १० अंक जोडेर चौथो भयो ।ललितपुरसहित झापा एफसी र बुवटल लुम्बिनीको पनि समान १० अंक थियो । तर, ललितपुरले झापालाई गोल अन्तरमा पछि पार्‍यो भने बुटवललाई हेड टु हेडमा पछि पार्‍यो ।

अब प्लेअफमा फाइनलसहित कुल ४ खेल हुनेछन् । जसमा शीर्ष दुई टोली पोखरा र धनगढीबीच सोमबार पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सीधै फाइनल पुग्नेछ । त्यसैले शीर्ष दुईमा रहने टिमलाई धेरै फाइदा हुन्छ । किनकि पराजित हुने टोलीले पनि अर्को क्वालिफायरमा खेल्ने अवसर पाउँछ ।

लिग चरणमा पोखरा र धनगढी आफ्नो अन्तिम खेलमा भिडेका थिए । जहा धनगढीले सुरुमा अग्रता लिएको थियो तर पोखराले इन्जुरी टाइममा गोल फर्काउँदै खेल बराबरी गरेको थियो । यस्तै तेस्रो भएको काठमाडौं र चौथो भएको ललितपुरबीच मंगलबार एलिमिनेटर हुनेछ । यो खेलमा भने विजयी हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिनेछ ।

काठमाडौं र ललितपुरबीच लिग चरणको अन्तिम खेल भएको थियो जहाँ काठमाडौंले ललितपुरलाई १-० ले पराजित गरेको थियो । पोखरा र धनगढीबीचको खेलमा पराजित हुने टोली र काठमाडौं र ललितपुरबीच विजयी हुने टोलीले आउने बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ ।

प्लेअफका चारै खेलका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेमेन्टले खेल समय पनि परिवर्तन गरेको छ । यसअघि साँझ ५ बजे खेल सुरु भएपनि अब प्लेअफमा आधा घण्टा ढिला अर्थात साँझ साढे ५ बजे खेल सुरु हुनेछ । दुवै क्वालिफायरको विजेताबीच आउने शनिबार फाइनल खेल हुनेछ । यस पटक च्याम्पियन हुने टोलीले करिब ७५ लाख नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.