महानगर तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, राष्ट्रपतिबाट उद्घाटन

काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८३ वटा विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा हुने तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

आज दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले खेलकुद सामाजिक र सांस्कृतिक गतिविधिसँग जोडिएकोले शिक्षाको अभिन्न अङ्ग रहेको बताउनु भयो ।

‘गरिखाने शिक्षा महानगरको इच्छा” मात्र नभएर सम्पुर्ण देशवासीको अहिलेको आवश्यकता भएको राष्ट्रपतीले बताउनु भयो । महानगरपालिकाले यस प्रकारको शिक्षामा जोड दिएकोमा आफुले गौरवको महसुस गरेको राष्ट्रपति पौडेलले बताउनु भयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बालबालिकाको सवल मानसिक अवस्था र उत्साहित भावनात्मक विकासमा खेलले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

यस बर्ष काठमाडौं महानगरपालिकाले खेलकुदलाई वृहत बनाएर बिद्यालय स्तरबाटै खेल कार्यक्रम लाई राष्ट्रिय खेल मैदानमा ल्याएको बताउनु भयो । बिद्यालय स्तरबाटै खेलबाट अबका दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्नुपर्ने उहाँको भनाइ थियो।

खेलबाट प्राप्त हुने उर्जाले जीवनलाई व्यवस्थापन गर्न ठूलो सहयोग पुर्याउँछ । यसका लागि शिक्षा र खेललाई समान महत्व दिएर अगाडि बढाएका छौँ । प्रमुख शाहको भनाइ थियो ।

कार्यक्रममा उप प्रमुख सुनिता डंगोलले खेलले समूहगत काम गर्ने बानी बसाउने र अनुशासन सिकाउने बताउनुभयो । जित हारमा भन्दा पनि खेलले व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदानमा पुर्याउने बताउनु भयो ।

आजबाट सुरु भएको खेलमा ३,२५० जना छात्र छात्रा खेलाडीले प्रतिस्पर्धा गर्ने महानगर शिक्षा बिभागले जनाएको छ । जसमा भलिवल खेलमा ८ सय जना, कबड्डी खेलमा ८ सय जना, तेक्वान्दो खेलमा ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

आजैबाट रंगशालाको कभर्ड हलमा उसु, कराँते र भलिवल खेल सुरु भइसकेका छन् । खेलहरु १९ गतेसम्म चल्नेछन् । भोलि विहान ७ बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामा एथलेटिक्स हुने शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

छात्रछात्रा कबड्डी र छात्रा भलिवल खेल कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा, क्षेत्रपाटीमा हुने शिक्षा अधिकृत दाहालले बताउनु भयो । पुरुष भलिवल खेल कन्या विद्याश्रम मा. वि. डिल्लीबजारमा हुनेछ भने तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा हुनेछ ।

उद्घाटन सत्रमा नेपाल प्रहरीको व्याण्ड, महानगर प्रहरी बल र करिब ५० वटा विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । उद्घाटन समारोहमा बि. ब्य. स. प्रतिनिधि, शिक्षक, विद्यार्थीसहित करिब १५ हजार व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.