सरस्वती माविको स्वर्ण महोत्सवको भव्य सुरुवात 

नमनडाँडा, ललितपुर । महाङ्काल गाउँपालिका वडा नं. ५ स्थित श्री  सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव भव्य सुरुवात भएको छ ।

वि.सं. २०३० माघ २१ गते स्थापित विद्यालयको स्वर्ण महोत्सव हिजो (माघ २०) गतेबाट सुरु गरिएको हो ।

समारोहको नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, ललितपुर-१ का सांसद एवं पूर्व ऊर्जा राज्यमन्त्री उदय शमशेर राणा, नेपाली कांग्रेसका नेता ऋषिराम घिमिरे एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

 

सँगै विद्यालयको इतिहास, वर्तमान र भविष्यको समीक्षा सहितको स्मारिकाको संयुक्त रुपमा विमोचन गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री आचार्यले उपत्यकाबाट टाढा रहेको ललितपुरको यस विद्यालयमा आएर प्रमुख अतिथि बन्नुले आफूलाई पनि यस क्षेत्रको विकास, निर्माण र प्रगतिको लागि जिम्मेवार बनाएको बताए । दक्ष र सिपयुक्त जनशक्ति निर्माण गर्न प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

गाउँ गाउँमा पक्की भवन बनेपनि मानिसहरू सहर आकर्षित हुँदा अबको ८-१० वर्षपछि गाउँका विद्यालयमा अहिलेको जस्तो अवस्था पनि रहन नसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशमशेर राणाले यस क्षेत्रको विकासमा आफूहरु लागिरहेको बताए । यस क्षेत्रको सडक सञ्जाल विस्तार र व्यवस्थापनमा बजेट व्यवस्थापन गर्दै जाने प्रतिबध्दता जनाए ।

कार्यक्रममा नेका बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेले चन्दनपुर क्षेत्रको विकासमा आजीवन सेवा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी, उपाध्यक्ष डोल्मा माया गोले, निवर्तमान अध्यक्ष रामचन्द्र दाहाल,  गाउँपालिका १-६ वडाका वडाध्यक्षहरु, वडा सदस्यहरू, जनप्रतिनिधिहरु, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य नवराज घिमिरे, संस्थापक शिक्षक इन्द्रमणि दाहाल, पुर्व प्रधानाध्यापक रामरमण घिमिरे, छिमेकी विद्यालयका प्रधानाध्यापक, स्थानीय वुद्धिजीवी, विद्यार्थीहरू, एवं सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा ४० भन्दा धेरै व्यक्तिले रक्तदान समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.