सरस्वती माविको स्वर्ण महोत्सव सम्पन्न

नमन, ललितपुर । सरस्वती विद्याश्रम माध्यमिक विद्यालयको ५० औँ जन्मजयन्ती (स्वर्ण महोत्सव) सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको  महोत्सवको पहिलो, दोस्रो र अन्तिम खण्डमा विभाजन गरि सम्पन्न गरिएको थियो ।

वि.सं. २०३० माघ २१ गते स्थापित विद्यालयको स्वर्ण महोत्सव २०८० माघ २०, २१ र २२ गते भएको थियो ।

समारोहको पहिलो दिन नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्य, ललितपुर-१ का सांसद एवं पूर्व ऊर्जा राज्यमन्त्री उदय शमशेर राणा, नेपाली कांग्रेसका नेता ऋषिराम घिमिरे एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालले  कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री आचार्यले उपत्यकाबाट टाढा रहेको ललितपुरको यस विद्यालयमा आएर प्रमुख अतिथि बन्नुले आफूलाई पनि यस क्षेत्रको विकास, निर्माण र प्रगतिको लागि जिम्मेवार बनाएको बताए । दक्ष र सिपयुक्त जनशक्ति निर्माण गर्न प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

गाउँ गाउँमा पक्की भवन बनेपनि मानिसहरू सहर आकर्षित हुँदा अबको ८-१० वर्षपछि गाउँका विद्यालयमा अहिलेको जस्तो अवस्था पनि रहन नसक्ने बताए । कार्यक्रममा विद्यालयको ५० वर्षे दस्तावेजको रुपमा प्रकाशन गरिएको स्मारिकाको समेत विमोचन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर क्षेत्र नं. १ का संघीय सांसद उदयशमशेर राणाले यस क्षेत्रको विकासमा आफूहरु लागिरहेको बताए । यस क्षेत्रको सडक सञ्जाल विस्तार र व्यवस्थापनमा बजेट व्यवस्थापन गर्दै जाने प्रतिबध्दता जनाए ।

कार्यक्रममा नेका बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरेले चन्दनपुर क्षेत्रको विकासमा आजीवन सेवा गर्ने प्रतिबद्धता जनाए ।

दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ललितपुर क्षेत्र नं. १(क) सांसद मधुसुदन पौडेलले दक्षिण ललितपुर भित्रका प्रमुख सडकहरु ५ वर्षे कार्यकालमा कालोपत्रे गरिसक्ने प्रतिबध्दता जनाएका छन् । महाङ्काल गाउँपालिका वडा नं. ५ स्थित श्री सरस्वती विद्याश्रम माध्यमिकको स्वर्ण जयन्तीको सभालाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले ग्रामीण क्षेत्रमा सडक, शिक्षा लगायतका पूर्वाधारमा राज्यको लगानी भई पुर्वाधार निर्माण हुने तर यहाँ जनतालाइ टिकाउन सकिएन भने त्यसको अर्थ नहुने बताए ।

तेस्रो दिनको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका थिए ।

महांकाल गाउँपालिका वडा नं. ५ नमनडाँडा स्थित विद्यालय प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री दुलालले ललितपुर जिल्ला आफैमा २ भागमा विभक्त भएको यथार्थलाई चित्रण गर्दै गणतन्त्र सबै क्षेत्रको समान विकासको लागि ल्याएको हुँदा दक्षिण ललितपुर विकासको पहिलो हकदार भएको बताए ।
मन्त्री दुलालले विद्यालयद्वारा निर्मित स्मारिकाको अन्तिम पृष्ठमा रहेको महाङ्काल गाउँपालिकाको गान सभामा वाचन गरेका थिए । त्यसमा भएका शब्दहरूले आफूलाई छोएको बताउँदै लेले चन्दनपुर सडकलाई प्रदेश सडकको रुपमा विकास गर्ने काम भइरहेको बताए ।
फापरबारी स्थित मध्यमार्गी सडक मदन भण्डारी लोकमार्गसँग जोडिने चन्दनपुर-ठुलादुर्लुङ-फापरबारी हुँदै हेटौडा पुग्ने सडक निर्माणका लागि मन्त्रिस्तरिय निर्णयबाट रु. २९ करोड ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । बेथानचोकको ढुंखर्क – च्याम्राङवेशी-ठुलादुर्लुङ सडक विस्तार, स्तरोन्नतिसँगै आश्राङ -ठुलादुर्लुङसम्म आइपुग्ने सडकको स्तरोन्नतिको लागि बजेट बिनियोजन भएको जानकारी दिए ।
यस क्षेत्रको बढ्दो बसाइसराई प्रति ईङ्कित गर्दै राम्रो सडक पहुँच हुने हो भने बस्न योग्य स्थान बनाउन सकिन्छ भन्ने आफूले बुझेको मन्त्री दुलालको भनाई थियो । प्रदेश सरकार ललिपुरलाई २ वटा नभइ डाडाँपारि क्षेत्रलाई पनि विकासको मुलधारमा समेट्ने गरि समानुपातिक विकास गर्न प्रतिबद्ध रहेको मन्त्री दुलालले बताएका थिए।
आमाबुबालाई सम्मान गर्ने, आफ्नो गाँउ, समाज र राज्यप्रति जिम्मेवार विद्यार्थी उत्पादन गर्नुपर्ने मन्त्री दुलालको भनाइ थियो। विद्यालयले उत्पादन गरेका विद्यार्थी आफ्नो ठाउँ र देशलाई माया गर्ने, संस्कार र संस्कृति अनुसरण गर्ने भएमा गुणस्तरिय शिक्षा प्राप्त गरेको हुने मन्त्री दुलालको भनाइ थियो ।
अंकमा धेरै, अङ्ग्रेजीमा पोख्त तर अन्तिममा देशै छोडेर जाने विद्यार्थी उत्पादन गर्नु गुणस्तरिय शिक्षाको मानक खारेज गर्नुपर्ने बताए । विद्यालयले छात्रावास, प्राविधिक शिक्षा व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने मन्त्री दुलालको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य उर्मिला लामाले यहि भुगोलमा उचित रोजगारीको व्यवस्थापन गर्नुपर्ने बताईन् । आधारभूत विद्यालयहरूलाई `सिक्दै कमाउदै कमाउदै सिक्दै’ भन्ने कार्यक्रम अन्तर्गत सामाजिक मन्त्रालयमा योजना पेश गर्न आग्रह गरिन् । आफूहरु शिक्षा, स्वास्थ्य र कृषिको विकासको लागि काम गर्न अगाडि बढेको लामाले बताइन् ।
प्रदेश र स्थानिय सरकार तत्पर भएको भएपनि संघ सरकारको बजेट तथा योजना यस क्षेत्रमा आउन आवश्यक रहेको लामाले बताइन् ।
कार्यक्रममा गायक विदुर घिमिरे, कल्पना दाहाल, प्रदिप रोक्का,  कृष्ण दाहाल, सुजाता केसी लगायतले सांगितीक प्रस्तुति राखेका थिए । त्यस्तै कलाकार गोपाल ढकाल (छन्दे) र सुरेश तिमल्सिना, सुरेश दाहाल लगायतले प्रहसन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण विद्यालयको प्रधानाध्यापक रमेश प्रसाद घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न विशिष्ट व्यक्तिहरूसँगै महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी, उपाध्यक्ष डोल्मा माया गोले, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, गाउँपालिका १ देखि ६ नं. वडाका वडाध्यक्षहरू, महांकाल गाउँपालिका कार्यपालिका सदस्यहरू, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विशिष्ट व्यक्तित्वहरू, शिक्षाप्रेमी, स्थानीय, विद्यार्थी, शिक्षक, पत्रकार एवं सरोकारवालाहरूको उत्साहजनक सहभागिताबिच कार्यक्रम समापन भयो ।
कार्यक्रममा विद्यालयको महोत्सव एवं शैक्षिक उन्नयनका लागि महत्वपूर्ण सहयोग गर्नुहुने चन्दा दाताहरू, उहाँहरुको आफन्त एवं विभिन्न जिम्मेवारीको संयोजक रही महोत्सव समापन योगदान गर्ने व्यक्तिहरुलाई मायाको चिनो सहित विशेष सम्मान गरिएको थियो ।
औपचारिक रुपमा विद्यालय स्थापना हुनुभन्दा अगाडि २०२६ सालबाटै पठनपाठन सञ्चालन भएको सरस्वती विद्यालयको व्यवस्थापन समिति को संस्थापक अध्यक्ष स्व. तुलसी नारायण दाहालको नेतृत्वमा ११ सदस्यीय समिति बनेको थियो । समितिमा उपाध्यक्ष स्व. धनमान गोले, कोषाध्यक्षमा स्व. भीम प्रसाद तिमल्सिना, सहायक कोषाध्यक्षमा स्व. गुमान सिं थोकर, स्व. जय बहादुर सिंगार, स्व.चक्र प्रसाद बजगाईं, नवराज घिमिरे, स्व. शान्त प्रसाद दाहाल, स्व. हर्क बहादुर गोले, स्व.चन्द्रवीर विश्वकर्मा, र सदस्य सचिव संस्थापक शिक्षक इन्द्रमणी दाहाल हुनुहुन्थो । साथे २ जना शिक्षक प्रधानाध्यापक स्व. बद्रीनाथ दाहाल र इन्द्रमणी दाहालले शिक्षण आरम्भ गर्नुभएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.