बनेपामा वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव

बनेपा । बजारमुखी एवं निर्यातयोग्य कृषिको उत्पादन समृद्ध तथा समुन्त काभ्रेको अभियान भन्ने मूल नाराको साथ वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव-२०८० आयोजना हुने भएको छ । जिल्लाको व्यापारिक नगरी बनेपाको लायकु तथा नालादोबाटोदेखि विद्युत्त प्राधिकरणसम्मको सडकमा फाल्गुन ४ गतेदेखि ७ गतेसम्म वृहत कृषि महोत्सव हुने भएको हो ।

वृहत कृषि महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ । महोत्सवले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रमा नयाँ आयाम थप्ने महोत्सव आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले बताए ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न पछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने आयोजकको अपेक्षा रहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने हेतुले महोत्सवको आयोजना गरिएको हो ।

कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनलाई महोत्सवमा सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि, उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी मार्फत कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाइ उत्पादन लागत घटाउने, अवलोकनकर्ता÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराइने मूल आयोजक समितिले जनाएको छ ।

जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय तथा काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव संचालन हुने जनाइएको छ ।

महोत्सवका लागि मुल समिति, सचिवालय तथा विभिन्न उप-समितिहरु गठन गरिएका छन् । महोत्सवका लागि १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवको अन्य तयारी धमाधम भईरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.