टिकटक प्रतिबन्ध खुलाइदिन नेपाल सरकारलाई आग्रह

काठमाडौं । नेपालमा पनि अति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले  जारी प्रतिबन्ध खुलाउन  सरकारलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आइतबार एक पत्र पठाउँदै कम्पनीले नेपाल सरकारका सबै कानून पालना गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध हटाउन आग्रह गरेको हो ।

सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद्‌ बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । कम्पनीले पत्रमा नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको कुरा उल्लेख छ ।
त्यस्तै कन्टेन्टसँग सम्बन्धित सवाल तथा प्रत्यक्ष रूपमा उक्त प्लेटफर्ममा भएका गतिविधिको रिपोर्टिङका लागि समर्पित ‘सम्पर्क व्यक्ति’ राख्न समेत कम्पनी तयार रहेको बताइएको छ । कम्पनीले टिकटकमा प्रकाशित सामाग्री पहिचानको लागि नेपाली व्यक्ति राख्ने जनाएको छ ।

पुनः सञ्चालनमा आएपश्चात् कम्पनीले नेपालमा राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता सम्बन्धी अभियान सञ्चालन गर्ने बताएको छ ।

त्यस्तै माध्यमिक विद्यालय तथा कलेजमा पढ्ने विद्यार्थीको शैक्षिक नतिजा सुधार गर्न शैक्षिक सामग्री डिजिटलाइज गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले कम्युनिटी गाइडलाइन पूर्ण रूपमा पालना गरेको सुनिश्चित गर्न विश्वभर ४० हजार कर्मचारी कार्यरत रहेको उल्लेख गरेको छ । यसका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको बताइएको छ ।

त्यस्तै ती कर्मचारीहरूले टिकटक प्रयोग हुने सम्बन्धित ठाउँका विभिन्न चाल चलन, संस्कृति र कानून पनि ध्यानमा राख्ने गरेको कम्पनीको भनाइ छ । विगत दुई वर्षदेखि नेपालमा आफ्नो प्लेटफर्ममा सुरक्षा सुनिश्चित गर्न कम्पनीले के गरिरहेको थियो भन्ने कुराको जानकारी यस अघिका पत्रहरूमा उल्लेख गरेको थियो ।

यससँगै नेपालमा टिकटक खुल्ने सम्भावना देखिएको जानकारहरू बताउँछन् । यसअघि नेपाल सरकारको टिकटक बन्द गर्ने निर्णयप्रति चिन सरकारका प्रतिनिधिले विशेष रुपले हेरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.