वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव भोलिबाट राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बनेपा । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव भोलिबाट सुरु हुने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा बनेपा तीनदोबाटो इस्टल राख्नेदेखि लायकु राजमञ्च सजाउने कार्य अन्तिम चरणमा पुगेको हो ।

महोत्सवको उद्घाटन फागुन ४ गते (भोलि) राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यतालिका रहेको छ । महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

काभ्रे कृषि एवं पशुजन्य उत्पादन, र बजारमुखी उत्पादनको दृष्टीले अग्रणी जिल्लाको रुपमा परिचित छ । कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको कारोवारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रती आकर्षण बढाई उत्पादन लागत घटाउने उदेश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले जानकारी दिए ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न भएपछि एक सयवटा कृषि तथा पशुपंक्षी सम्वन्धी फार्महरुमा कृषकहरु ब्यवसायीक भई उत्पादनमा बृद्धी हुने आयोजकको अपेक्षा रहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा कृषि एवं पशुजन्य उत्पादन तथा ब्यवसायका लागि उत्कृष्ट गन्तब्य बन्न सक्ने हेतुले महोत्सवको आयोजना गरिएको हो ।

कार्यक्रममा हरेक दिन सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.