कृषिमा आधुनिकीकरणको आवश्यकता

हाम्रो मुलुक कृषि प्रधान देश हो । मुलुकका ६६.७ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा आबद्ध छन् । आधाभन्दा बढी जनताले कृषिलाई आफ्नो कर्म बनाएका छन । त्यही कर्मले बगाएको पसिनाले जिविको पार्जनको गर्जो टार्दै आएका छन । मुलुक कृषि प्रधान देश रहे पनि कृषिमा आधुनिकीकरण भने हुन सकेको छैन ।

कृषिलाई आधुनिक एवं निर्यातमुखी बनाउन “बजारमुखी एवं निर्यात योग्य कृषिको उत्पादन समृद्द तथा समुन्नत काभ्रेको अभियान“ भन्ने नाराका साथ बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० सुरु भएको छ । काभ्रेपलान्चोक जिल्लाको कृषि पर्यावरण र कृषकका लागि अवसरको रुपमा आयोजना गरिएको महोत्सव मेला मात्र नभएर कृषि पेशामा आवद्ध आम काभ्रे वासीको समृद्दिको आधार बन्न सक्नु पर्दछ । कृषि पेशालाई धेरैले अझै पनि निर्वाहमूखी पेशामात्रै बनाएका छन् । कृषिलाई आधुनिकीकरणमा लगेको पाइदैन । यसैगरी कृषिमा कृषि यन्त्र उपकरणको प्रयोग अझै पनि कमै रहेको छ । बढीभन्दा बढी उत्पादन र फाइदाका लागि कृषिमा आधुनिकीकरण हुनु पर्नेमा कसैको दुई मत हुन सक्दैन । जीवन निर्वाह खेतीलाई व्यावसायिकरण गर्नु पर्नेमा पनि कसैको फरक मत हुन सक्दैन ।
कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण आजको आवश्यकता हो । किनभने, परम्परागत र निर्वाहमुखी खेतीले किसानको परिश्रम समेत उठन सकेको देखिन्न । कम परिश्रम र लगानीमा धेरै उत्पादन गर्न सकिएमा मात्रै कृषिमा आधुनिकीकरण मानिन्छ । जीवन निर्वाह कृषिले अब केही हुनेवाला छैन ।

कृषिका लागि मुख्य कुरा सिँचाइ, मलखाद, गुणस्तरीय बिउबीजन, किटनासक औषधी, कृषि बीमा, उत्पादित कृषि फसलको सहज बजारीकरणको ब्यवस्था मुलुकमा तीनै तहका सरकारले गर्न सक्नु पर्दछ । ताकी किसानले थोरै खर्च र परिश्रममा धेरै भन्दा धेरै उत्पादन गर्न सकुन । कृषिमा तीनै तहका सरकारले लगानी बढाउदै लगेको देखिन्छ । तर, कतिपय लगानी कृषिका नाममा गैर कृषिमा लगानी हुदै आएको छ । ब्यवसायीक कृषि अगालेका कृषकको लगानी पनि नउठ्ने परिस्थितिको सामना किसानले ब्यहोर्दै आएका छन् । खासमा, यो आधुनिक तरिकाले खेती नगर्नुको नतिजा हो । त्यसैले अब किसानले आधुनिक तरिकाको खेतीपाती गर्न आवश्यक छ । कृषिमा अवस्था अनुसार बढी उत्पादन र आम्दानी लिन बहु बाली लगाउन पनि जरुरी छ ।

किसानले खेतीपाती लगाउने सिजनमा सधैं बीउ, मलखाद अभावको समस्या झेल्दै आएका छन । नारा कृषि आधुनिकीकरणको लगाउने गरे पनि सरोकारवाला निकायले किसानलाई समयमा कृषि सामग्री उपलब्ध गराउन नसक्ने अवस्था अझै पनि विद्यमान रहेको छ । समयमा कृषि सामग्री नपाउँदा समयमा खेतीपाती गर्न नसक्ने कारणले उत्पादनमा ह्रास आउने गरेको छ । किसानले उत्पादित सामानको उचित मूल्य पाउन सकेका छैनन । सरोकारवाला निकायले किसानलाई कृषि प्राबिधिक, समयमै मलखाद , बीउबिजन, आधुनिक कृषि औजार सामग्री बेलैमा उपलब्ध गराउनु पर्ने जरुरी छ ।
साँच्चिकै कृषिमा क्रान्ति ल्याउने हो भने बोलेर मात्रै हुँदैन । किसानलाई समयमा नै कृषि सामग्री उपलब्ध गराउनु पर्दछ । यसका साथै, आधुनिक खेतीका बारेमा पनि परामर्श दिनु पर्दछ । पछिल्लो समय केही हद्सम्म कृषिमा यान्त्रिकीकरण भइरहेको देख्न सकिन्छ । जुन कृषिमा सुखद पक्ष भएता पनि यतिले मात्रै पुग्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.