चालिसेटारमा मोटरेबल पुल निर्माण भएपछि स्थानीय हर्षित

भुम्लु । भुम्लु गाउँपालिका वडा नं. ९ चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री तिर्थ लामाले मोटरेवल पुलको उद्घाटन गर्नुभएको हो । भुम्लु गाउँपालिकाको ४२ लाख र जनसहभागितामा पुल निर्माण सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले खानेपानी सिँचाई लगायतका समस्या आगामी बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाए । यस किसिमको पुल टेन्डर मार्फत निर्माण गरिएको हो भने लगभग २ करोड लाग्ने भएपनि जनसहभागिता र गाउँपालिकाको सक्रियतामा ४२ लाख बजेटमा निर्माण सम्पन्न भएको बताए । जनप्रतिनिधि र स्थानीयको सक्रिय सहभागिता रहेमा विकास निर्माणको काम गुणस्तरयुक्त र कम लागतमा हुने मन्त्री लामाको जिकिर थियो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले मोटरेवल पुल निर्माण भएसँगै स्थानीयलाई आवतजावत एवं ढुवानी गर्न सहज भएको बताए । अध्यक्ष भुजेलले तरकारी खेतीको लागि सिंचाई आवश्यक भएको भन्दै त्यसका लागि भुम्लुभर १ हजार पोखरीको अवधारणा ल्याएको बताए । गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले विकास निर्माणका लागि स्थानीय बजेट पर्याप्त नहुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । सबैको हातेमालो र साथ सहयोगमा भुम्लु गाउँपालिकाभित्र धेरैभन्दा धेरै विकास निर्माणका काम गर्ने उपाध्यक्ष लामाले बताए ।

उक्त स्थानमा पुल नहुदा बर्षाको समयमा तरकारी बोकेर कृषक, विद्यालय जाने बालबालिका र स्थानीय ४ किलोमिटर टाढा ५२ किलोस्थित झोलुङगे पुलसम्म पुग्न बाध्यता रहेको थियो । स्थानीय पुल निर्माण भएसँगै खुसी भएको प्रतिक्रिया दिएका छन् । भुम्लु गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष दलबहादुर तामाङले २०४५ सालदेखिको पुल बनाउने सपना पुरा भएको भन्दै यसअघि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको सुनाए । पुल उद्धघाटनमा पुगेका मन्त्री तीर्थ लामालाई स्थानीयबासीले खानेपानी र सिंचाईको समस्या भएकाले समाधान गरिदिन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा भुम्लु गाउँपालिका वडा नं ५ का अध्यक्ष अञ्चलकुमार मोक्तान, पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर लामा, स्थानीय समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.