तत्कालीन जिप्रका काभ्रेका नासु अर्याल पक्राउ

बनेपा । दुईजना चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नासु रामचन्द्र अर्याल पक्राउ परेका छन् ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ साल पुस २० मा जिप्रका काभ्रेले नागरिकता प्रदान गरेको थियो । तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएपछि उक्त घटना बाहिरिएको थियो ।

चिनियाँ नागरिकको जारी नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गरेका थिए । प्रहरी अनुसन्धानले नासु अर्यालले नागरिकता जारी गर्दा सनाखत गरेको खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो र सोही आधारमा मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अर्याललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको छ । अर्याल हाल बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अधिकृत रहेका थिए ।

काभ्रे प्रहरीले म्याद थप गरि अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.