मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन

स्थानीय स्तरमा उत्पादन र रोजगारी बढाउने प्राविधिक शिक्षा आवश्यक छ: राष्ट्रपति पौडेल

कुन्तावेंशी । मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन समुद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । काभ्रेको कान्छो नगरपालिका मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवसको अवसरमा भवन उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशमा नयाँ राज्य संरचना स्विजरल्यान्डको जस्तो सुशासन, गान्धीले कल्पना गरेको जस्तो वृहत्तर सोचले निर्माण गरेको बताए । देशका हरेक स्थानीय क्षेत्रमा हुने विकास निर्माण अधिकार प्रत्यायोजनको क्रममा केन्द्रिय सरकारको उदारता र लचकता साथै स्थानीय सरकारको ग्रहणशिलता र क्षमतामा निर्भर रहने सुझाए ।

स्थानीय सरकार गठन भई संघीयता कार्यान्वयन भएको यो अवस्थासम्म देशका कतिपय स्थानमा भौतिक पूर्वाधार हुन नसकेको समयमा यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्था गरि सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सकेकोमा राष्ट्रपति पौडेलले बधाई दिए ।

`जनतालाई दिने सेवालाई व्यवस्थित गर्न आवश्यक प्रशासनिक भवन निर्माण गरेकोमा नगरप्रमुख साथै नगरपालिकाका जनप्रतिनिधिलाई बधाई’ राष्ट्रपति पौडेलले भने, ‘देउपुर र मण्डन कृषि र पर्यटनको अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेको मलाई खुसी लागेको छ ।’

यसैबाट नगर र नगरबासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति पौडेलले बताए । कृषि, पर्यटन र ऊर्जा नेपालको विकासको आधार भएकाले त्यसको लागि श्रमको सम्मान गर्ने संकृतिको विकास गर्नुपर्नेमा पौडेलले जोड दिए ।

स्थानीय स्तरमा गुणस्तरिय प्राविधिमा प्रतिस्पर्धी शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमा मात्र राजनीतिक परिवर्तपछि मुलुकले अपेक्षा आर्थिक क्रान्तिको अपेक्षा पूरा हुने बताए । जसले गरिब, सीमान्तकृत र पिछडिएका वर्गको उन्नतिको ढोका खोल्ने विश्वास राष्ट्रपति पौडेलेल लिए ।

त्यसमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारि रहने पौडेलको भनाई थियो । विकासका पूर्वाधार जनताका आधारभूत आवश्यकता पूरा गर्ने, सुशासन, सेवा र सुविधा सरल, सहज र प्रभावकारी रुपले दिन सकिए मात्र संविधानले निर्धारित गरेको अपेक्षा पूरा हुने पौडेलले बताए ।

राजनीतिक परिवर्तनपछि मुलुकले चाहेको आर्थिक क्रान्ति सम्भव हुने बताउँदै राष्ट्रपति पौडेलले तीनै तहको सरकारको समन्वयकारी भुमिका हुनुपर्ने बताए । पौडेलले संविधानको भावना र संघियताको मर्म अनुसार नागरिकले अनुभूत हुने गरि काम गर्न नगरपालिका सक्षम होस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिका नगरप्रमुख टोक बहादुर वाईबाले नगरकोटलाई राष्ट्रिय पर्यटकिय क्षेत्र घोषणा गर्नको लागि पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए ।

कार्यक्रममा वाईबाले नगरपालिकाको भव्य ६४ कोठे भवन १६ करोड १९ लाख ७९ हजारको लागतमा निर्माण गरिएको जानकारी दिए । नगरपालिकाको प्रशासनिक भवन २५ रोपनी ४ आनामा निर्माण भएको जानकारी दिए ।

संघीय लोकतन्त्रिक गणतन्त्रात्मक शासन प्रक्रियाको हिसाबले मुल खम्बा स्थानीय सरकार भएको बताए । नगरपालिकाले स्थानीय सरकारको हैसियतमा विभिन्न संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन गर्दै आइरहेको जानकारी दिए ।

नगरसभा, नगरकार्यपालिका , विषयगत शाखा र समितिकहरूको भूमिकालाइ थप प्रवाभकारी बनाई वडागत हिसाबमा सम्पादन हुनुपर्ने कामलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न नगरपालिका अगाडि बढिरहेको बताए ।

त्यस्तै नगरभित्रका सामुदायिक विद्यालयहरुमा इन्टरनेटको सुविधा पुर्याई शैक्षिक सुधारमा प्रविधिमा जोड्न नगरपालिकाले प्राथमिकता दिएको बताए । कार्यक्रममा नगरप्रमुख वाईबाले हालसम्म सम्पन्न विकास निर्माणका कामहरूको बारेमा जानकारी दिएका थिए । वाईबाले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेका उपलब्धिका बारेमा जानकारी गराएका थिए ।

नगरप्रमुखा वाईबाले आगामी वर्षमा मालपोत र नापी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता अन्त्य गर्दै त्यस्तो सेवा नगरपालिकाको प्रशासनिक भवनबाटै प्रवाह गर्ने गरि काम गरिरहेको नगरप्रमुख वाईबाले बताए ।

जनताको जनजिविकासँग सम्बन्धित सम्पूर्ण काम नगरपालिकाबाट गर्दै लैजाने नगरप्रमुख वाईबाले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य नगर उपप्रमुख विष्णुमणि नेपालले राखेका थिए । उपप्रमुख नेपालले भवन निर्माण पछि विगतमा तिरेको घरभाडा बचत भएको बताए ।

कार्यक्रमको सहजीकरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का र लेखा अधिकृत पुष्पराज बजगाईले गरेका थिए ।

समारोहमा विभिन्न जातिय सांस्कृति झल्काउने सांस्करतिक झाकी प्रदर्शन गरिएको थियो । साथै विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पस्केका थिए ।

 

कार्यक्रममा विशेष अतिथि  सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, पूर्व मन्त्री एवं काभ्रे-२ का संघीय सांसद  गोकुल बास्कोटा, संघीय सांसद मिना लामा, निमा लामा, बागमति प्रदेशका निवर्तमान खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामा, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, बागमती प्रदेश सभा सदस्य कन्चन्चन्द्र बादे, बागमती प्रदेश सभा सदस्य वसुन्धरा हुमागाईं,  जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, उपप्रमुख रिम बहादुर तामाङ, जिल्ला समन्वय समितिका पदाधिकारिहरु, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरू, विभिन्न विद्यालयबाट शिक्षक, विद्यार्थीहरु, स्थानीय व्यक्तित्वहरू, स्थानीय बुद्धिजीवी, स्थानीय एवं पत्रकारहरू लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

मण्डनदेउपुर नगरपलिका ३ वटा देउपुर वालुवाटी, गैरीबिसौना र नयाँगाउँ देउपुर तथा ४ वटा मण्डन महादेवस्थान, चण्डेनी, जैसीथोक र ज्याम्दीका ७ वटा गाविससहित मिलेर नगरपालिका २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित भएर स्थापना भएको हो । मण्डनदेउपुर अन्तर्गत १२ वटा वडामा विभाजन गरि जनतालाई सेवा प्रवाह गरिएको छ । `देउपुर र मण्डन: कृषि र पर्यटन’ भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढिरहेको मण्डन देउपुर नगरपालिका कृषि क्षेत्रमा अगाडि बढेको छ भने पर्यटकीय क्षेत्र नगरकोट प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । २०७८ को जनगणना बमोजिम ७९२४ घरपरिवार रहेका छन् । ३०,३८१ जनसंख्या रहेको छ । नगरपालिकाको जनसंख्या वृद्धिर -०.६९ रहेको छ । बागमती प्रदेश अन्तर्गत कान्छो नगरपालिका मण्डनदेउपुर काठमाडौंबाट मात्र ५५ किलोमिटर दुरीमा रहेको छ ।

(तस्बिर स्रोत : पत्रकारद्वय देवराज केसी, जीवन तामाङ)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.