सुनको गहना लुट्न ८३ बर्षिया वृद्धाको हत्या

बनेपा । बनेपामा सुनको गहना लुट्न महिलाको हत्या भएको छ । धुलिखेल नगरपालिका वडा नं. ९ घर भएकी तर बनेपा नगरपालिका वडा नं.१३ भैंसेपाटीमा डेरामा बस्दै आएकी ८३ वर्षिय महिला लक्ष्मी तामाङको हत्या भएको हो ।

कानमा लगाएका दुईवटा रिङ लुट्नकै लागि महिलाको हत्या भएको छ । हत्यामा संलग्न सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. ८ मा स्थायी घर भएका २९ वर्षिय अभिषेक आचार्जुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न आचार्जुले फागुन १७ गते लक्ष्मी तामाङको कोठामा प्रवेश गरि वृद्धा सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको थियो । लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैया लिएको थियो । त्यस रकमबाट साथिहरुलाई तिर्नु पर्ने केहि रकम तिरेको हत्यामा संलग्न आचार्जुले प्रहरीलाई बयान दिएका छन् ।

२०८० फागुन १७ गते विहान हत्या गरी भागेका अभिषेक आचार्जु झण्डै एक महिनापछि चैत्र १३ गते पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयका प्रमुख डिएस्पी लालध्वज सुवेदीका अनुसार धुलिखेल ९ घर भएकी लक्ष्मी विगत एक वर्ष देखि भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरको भुई तल्लामा भाडामा बस्दै आएकी थिईन् ।

सोहि तल्लामा अभिषेक पनि बस्दै आएका थिए । अभिषेकका बाबु आमा लगायत बनेपामा हार्डवेयर ब्यवसाय गर्दै आएका छन् । घर परिवारले नियन्त्रणमा राख्न नसकेका उनको संगत गलत ब्यक्तिहरुसँग थियो । मृतक लक्ष्मी आफन्त भए पनि एक्लै डेरामा बस्दै आएकी थिईन् ।

दुई दिनसम्म लक्ष्मीलाई नदेखेको अझ ढोका समेत भित्रैबाट लगाएको देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । लक्ष्मीलाई मारे पछि भने युवक कोठामा आउन छाडेका थिए भने केहि शंकास्पद गतिविधी समेत देखाएका थिए । तर प्रहरीले उनको निगरानी बढाएको थियो । प्रारम्भिक अनुसन्धानले पुष्टी भएपछि उनलाई पक्राउ गरि जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.