बनेपा लायकुमा शुक्रबारे हाटबजार सुरु

बनेपा । बनेपा नगरपालिकाले स्थानीय हाटबजारको सुरुवात गरेको छ । स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ भन्ने मूल नाराका साथ नगरपालिकाले हाटबजारको शुभारम्भ गरेको हो ।

हाटबजार हप्ताको प्रत्येक शुक्रबार लायकु मञ्चमा लाग्ने बताइएको छ । उपभोक्ता र किसानको दुरी घटाउन नगरपालिकाले हाटबजारको स्थापना गरेको नगरप्रमुख शान्तिरत्न शाक्य बताउँछन् । आउँदो हप्ताहरुमा हाटबजारले लय लिने र उपभोक्ता र किसानको घुइँचो लाग्ने प्रमुख शाक्यको विश्वास रहेको छ ।

हाटबजारमा स्थानीय तरकारी तथा फलफूलहरु, दुग्धजन्य उपजहरु, तितौरा, स्थानीय स्तरमा उत्पादित तेल, ढाकाको लत्ताकपडा लगायत सरसामान प्रदर्शन गरिएको थियो । शुक्रबार हाटबजारको सुरुवातको पहिलो दिनमा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्का, बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगायत व्यक्तिहरुले हाटबजारको अवलोकन शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.