ढुंखर्कमा पाँचौ बेथानचोक कप जिल्ला स्तरीय भलिवल सुरु

ढुंखर्क । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिवल प्रतियोगिता २०८० सुरु भएको छ । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा कूल १८ वटा टिम एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

बुधबार एक कार्यक्रम बिच कार्यक्रमबीच प्रतियोगिताको आरम्भ भएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष एवम् नेपालका प्रथम अन्तराष्ट्रिय भलिवल रेफ्री गौतम प्रसाद लासिवा हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लासिवाले स्थानीय सरकारले खेलकुदमा पर्याप्त लगानी गर्न आवश्यक रहेको बताउनु भयो । विकासका लागि पूर्वाधार मात्र सबैथोक नभएको भन्दै खेलकुदको विकासका लागि पनि राज्यले यथेष्ट ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले देशको शान राख्ने गरी खेल्न खेलाडिलाई हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो । तिमल्सिनाले बजेटको सिमितताका बाबजुद खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिका प्रतिबद्ध भएको बताउनुभयो । खेलले भाइचार बढाउने बताउँदै उहाँले सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका अनुसार बेथानचोक गाउँपालिका ए र बि, लामाज क्लब, महांकाल गाउँपालिका ए र बि, अमरज्योति युवा क्लब, लड्केश्वर युवा क्लब, मण्डनदेउपुर नगरपालिका ए र बि, गिम्देली युवा क्लव, नयाँबस्ती युवा क्लव, दलिञ्चोक भलिवल, पाँचखाल नगरपालिका, काकाज ग्रुप, महाभारत गाउँपालिका ए र बि का साथै गौखुरेश्वर युवबा क्लब प्रतियोगिता आफ्नो पोल्टोमा पार्न तम्सिएका छन् ।

जेष्ठ ९ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कारःरु ८० हजार, द्वितीय पुरस्कारः रु ५० हजार, तृतीय पुरस्कारः २०÷२० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हुने स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख तिमल्सिनाले बताउनु भयो ।

यसबीच बुधबार भएको उद्घाटन खेलमा टिम बेथानचोकले महांकाल गाउँपालिका माथि विजय हाँसिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.