चण्डेश्वरी जात्राको पौराणिक महत्त्व

करिव पच्चीस सय वर्ष देखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने यो जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमा देखि तीन दिन सम्म मनाउने गरिन्छ । यो जात्राको अवसरमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ । जात्रा सुरुहुनु पुर्व पूर्णिमाको अघिल्लो दिन काठमाडौंको हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने पुजारीको सहभागिता रहनुले पनि यो जात्राको महत्व बिशिष्ट छ। जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गर्ने चलन छ ।

बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न र जात्रा भर्न टाढादेखि भक्तजन आउने गर्दछन।
जात्रा सुरुहुने पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पुऱ्याउने प्रचलन छ । खटलाई चण्डेश्वरी मन्दिर नजिक पुर्याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थानमा रथ पुऱ्याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने गरिन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुऱ्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने चलन छ। चण्डेश्वरी माताको मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुऱ्याएपछि जात्रा सकिने गर्छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकूमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिन्छ । कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्व दिइदै आएको छ ।

किंवदन्तीअनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएको र त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि देवताहरु भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको, स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पंक्षीको रुपधारण गरी उक्त वनबाट अलप भएको कथा छ । चण्डेश्वरी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा यो जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ । स्थानीय स्तरमा मनाइने यस प्रकारका जात्राको संरक्षण गर्दै आगामी दिनमा यसको महत्त्वलाई बढवा दिन सक्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.