केयुमा कुशल फार्मेसी अभ्यास (जिपिपीएड) अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

धुलिखेल । स्वास्थ्य क्षेत्रमा बढ्दै गएको औषधि दुरुपयोगलाई रोक्न कुशल फार्मेसी अभ्यास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । कार्यक्रम आगामी असोज महिनाको ४ गतेदेखि ६ गतेसम्म सम्म काठमाडौं विश्वविद्यालय (केयु) मा हुनेछ । काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागका विद्यार्थीहरुले गुड फार्मेसी प्रयाक्टिस एडुकेसन (जीपीपीएड) कार्यक्रम २०२४ सञ्चालन गर्न लागेका हुन् ।

अन्तराष्ट्रिय फार्मेसी विद्यार्थीहरुको संघ (इन्टरनेश्नल फार्मेस्युटिकल स्टुडेनट फेडेरेसन – एसिया प्यासिफक रिजनल अफिस (आइपिएसएफ–एप्रो) को आयोजनामा २०२४ सेप्टेम्बर २०, २१ र २२ मा सञ्चालन हुन लागेको काठमाडौं विश्वविद्यालय फार्मेसी विभागले जानकारी दिएको छ ।

कार्यक्रमको अन्य तयारी जिपिपीएड नेपाल २०२४ अध्यक्ष समृद्धि आचार्यको नेतृत्वमा भइरहेको छ । ‘कक्षा कोठाबाट अभ्यास सम्म’ भन्ने मूल नाराका साथ फार्मेसी क्षेत्रमा सैद्धान्तिक सिकाइ र व्यावहारिक प्रयोग बीचको खाडललाई कम गर्ने उद्देश्य लिई कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक सौरभ शर्माले जानकारी दिए । शर्माका अनुसार, औषधि उत्पादन तथा यसको हेरचाहको गुणस्तर र प्रभावकारिता बढाउने यस कार्यक्रमले उद्देश्य राखेको छ ।

कार्यक्रमको तयारीलाई अहिलेदेखि नै अगाडि बढाइएको संयोजक शर्माले बताए । उनका अनुसार, कार्यक्रमका लागि सहयोगी दाताहरुको खोजी, सम्बन्धित सरोकारावाला निकायहरुसँग छलफल, कार्यक्रमको प्रचारप्रसार लगायत गतिविधिहरु सञ्चालन भइरहेका छन् । ५, ६ विद्यार्थीहरुको समूह नै बनाएर औषधि उत्पादक कम्पनी, कन्सल्टेन्सी लगायतका संघसंस्थासँग समन्वयको काम अघि बढाइएको संयोजक शर्माले जानकारी दिएका छन् ।

आगामी असोज ४, ५ र ६ गते, तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फार्मेसी क्षेत्रका विशेषज्ञहरुबाट जानकारीमूलक प्रस्तुति, बहस, सचेतनामूलक, प्रतियोगितात्मक कार्यक्रम साथै कला र संस्कृति झल्कने प्रस्तुतिहरु लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रममा फार्मेसी क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित व्यक्तित्वहरुबाट कुशल फार्मेसीबारे ज्ञान लिन नेपाल सहित एसियाली देशहरुः भारत, पाकिस्तान, थाइल्याण्ड, श्रीलंका ताइवान, इण्डोनेसिया, मलेसिया, सिंगापुर, फिलिपिन्सकाका फार्मेसी संकायका विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.