नेकपा एमाले मण्डनदेउपुरको घोषणापत्र सार्वजनिक कृषि, पर्यटन र संस्कृति संरक्षणमा जोड

मण्डनदेउपुर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले मण्डनदेउपुरले घोषणापत्र सार्वजनिक गरेको छ ।  घरदैलो कार्यक्रममा रहेको एमालेले जनतामा माग सम्बोधन गर्दे प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले मण्डनदेउपुरको पूर्वाधार विकास, कृषि र पर्यटनलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेकपा एमालेका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार विदुर सापकोटा र सरिता ढकालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा प्रत्येक वडाको मुख्य सडक कालोपत्र सहित नगरको केन्द्रमा जोड्ने, हरेक टोलका सडकलाई स्तरोन्नती गर्ने, खेतियोग्य जमिनलाई कृषि सडक सञ्जालले जोड्ने र नगर चक्रपथ निर्माण विषयलाई महत्व दिइएको छ ।

 

एमालेले कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी अनुदान र सहुलियत सहित मल, बिउ र कृषि औजारहरुमा अनुदान तथा सहुलियत प्रदान गरी नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्ने प्रतिबदता व्यक्त गरेको छ भने किसानलाई व्यवसायिक कृषि तथा पशु पालन सम्बन्धि सिपमुलक तालिम तथा सहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको छ ।

यसैगरी कृषि उत्पादनको न्युनतम सर्मन मूल्य, कृषि उत्पादनको भण्डारण केन्द्र निर्माण गर्ने, रासायनिक मलको अभावलाई समाधान गर्ने, कृषि उत्पादनको प्रसोधन तथा पशुका लागि दाना उत्पादनकेन्द्र निर्माण गर्ने, उन्नत जातका बिउ, नस्ल सुधार गरिएका पशु पालनतर्फ किसानलाई अग्रसर गराई मुनाफा युक्त कृषि व्यवसायमा किसानलाई सहभागि गराउने र एक वडा एक नर्सरीको व्यवस्थापन गर्ने योजना नेकपा एमालेको रहेको छ ।

 

एमालेले पर्यटन क्षेत्रलाई पनि विकास र विस्तार गर्ने नीति लिएको छ । पर्यटन पूर्वाधारहरू निर्माण गर्ने, रक क्लाइम्ब, जिपलाइन, पार्क जस्ता पूर्वाधार निर्माण, होम स्टे स्थापना गर्न सीप, प्रविधि र बजारीकरणमा लगानी अभिवृद्धि गर्ने, नगरकोट र सुलिकोट थामडाडाँ केन्द्रित लामा छोटा पर्यटक पदमार्ग निर्माण गर्ने र गुरुङ, तामाङ, मगर, दनुवार र माझी जातिको सांस्कृतिक इतिहासको संरक्षणको लागि आदिवासी सङ्ग्रहालय स्थापना गर्ने एमालेले प्रतिबद्धता जनाएको छ ।

 

यसैगरी एमालेले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, महिला बालबालिका र जेष्ठ नागरिकका लागि सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने, घरदैलो सहज पहुँच सहितको निशुल्क र गुणस्तरीय आधारभूत स्वास्थ सेवा उपलब्ध गराउन प्रत्येक वडाका स्वास्थ्य संस्थाहरूको सवलीकरण गरि सुरिक्षित मातृत्व सेवा संचालनका लागि जनशक्ति र पूर्वाधार सुनिस्चित गर्ने, निःशुल्क औषधिको सहज उपलब्धता, यसका लागि सरकारले वितरण गर्ने निशुल्क औषधिको सूची घरघरमा बाँड्ने, घरघरमा फस्टएड बाकसको निशुल्क अनिवार्य व्यवस्था गर्ने, प्रविधि मार्फत २ वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाको निरन्तर स्वास्थ्य अवस्था अनुगमनको प्रवन्ध गरिने, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि विशेष संरचना निर्माणका साथै स्वास्थ्य हेरचाह कार्यक्रम लागु गरी स्वास्थ्य कर्मीको मोवाइल टोलि परिचालन गर्ने, अस्पताल तथा स्वास्थ्य केन्द्रमा महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित सेवा डेस्कको व्यवस्था गर्ने, नगर अस्पतालमा विशेषज्ञ सेवा सुनिश्चित गर्न पूर्वाधार विकास गर्ने उद्देश्य एमालेले लिएको छ ।

खानेपानी तथा सरसफाइ, न्याय, सुरक्षा र सामाजिक विकास, युवा खेलकुद र रोजगार, शहरी संरचना र औद्योगिक बिकास, सामुदायिक वन , वातावरण र सहकारी, प्रकोप जोखिम न्यूनीकरण, पर्याप्त आवास, भूकम्पपछिको पुनर्निर्माण, लैङ्गिक समानता, अवसरमा समावेशिता, संचार तथा सुचना प्रविधि, सुशासन तथा संस्थागत विकास लगायतका विषयहरूलाई पूरा गर्न एमालेले प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.