मानव कल्याण समाज धुलिखेललाई पक्की भवन

धुलिखेल । मानव कल्याण समाज धुलिखेलले पक्की भवन पाएको छ । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार व्याञ्जुले भवन उद्घाटन गरी मानव कल्याण समाजलाई हस्तान्तरण गर्नुभएको हो ।

मानव कल्याण समाज धुलिखेलले हालसम्म ७ सय भन्दा बढी वेवारिसे सडक मानवहरुको उद्दार गरी पारिवारिक पुनःस्थापना समेत गरेको छ । हालै मानव कल्याण समाज धुलिखेलमा ५० भन्दा बढी सडक मानवहरु रहेका छन् । मानव कल्याण समाजलाई विभिन्न स्थानीय सरकार, संघसंस्था, व्यक्तिहरुबाट सहयोग आइरहेको र संस्था सञ्चालन गर्न मिलिरहेको संस्थाका अध्यक्ष सुमित्रा चौलागाईंले बताउनुभयो ।

धुलिखेल नगरपालिकाले उपलब्ध गराएको भवन सडक मानवका लागि बस्न उचित हुने अध्यक्ष चौलागाईंले बताउनुभयो । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकालाई उक्त भवन हस्तान्तरण गरेसँगै नगरपालिकाले संस्थालाई भवन हस्तान्तरण गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका नगरप्रमुख अशोक व्याञ्जुले सडक मानवहरुको उचित व्यवस्थापन हुन जरुरी र मानव कल्याण समाज धुलिखेलले सडक मानव न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । साथै नगरप्रमुख व्याञ्जुले मानव सेवा घरलाई जहिले कहिले समस्या पर्दा धुलिखेल नगरपालिकाले सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका पूर्व उपप्रमुख विमला शर्मा चौलागाईं, सुर्यविनायक नगरपालिका पूर्व उप–प्रमुख जुना बस्नेत, काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, धुलिखेल १२ का पूर्व वडाध्यक्ष हर्क बहादुर तामाङ, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, बुद्धिजीवी, मानव कल्याण समाजलाई निरन्तर सहयोग गर्नुहुने महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.