अब सोझै मेसिनबाट नगद जम्मा गर्न सकिने

काठमाण्डौं । निजी क्षेत्रको सफल एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवाको शुभारम्भ गरेको छ । सेवा मार्फत अब ग्राहकहरुले सहज रुपमा यस बैंकमा रहेको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् ।

 

यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहके केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । यस मेसिनबाट रू १ हजार र ५०० सय रुपैयाँका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकले खातामा एक पटकमा अधिकतम रू.९९ सय हजार ५०० गरी दैनिक अधिकतम रू.९ लाख ९९ हजार ५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।

 

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त गर्नेछन् र उक्त OTP मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।

 

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।

 

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको छ । जसबाट नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहक महानुभावहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै बैंकले दैनिक रुपमा रकम झिक्न र बचत गर्न सकिने Cash Recycler मेसिनबाट समेत सेवा सुचारु गरिसकेको छ ।

 

एन आइ सी एशिया बैंकका मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा सेवा दिँदै आएको छ । बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.