बेरोजगारी समस्या न्यूनीकरणका लागि प्राविधिक शिक्षा आवश्यक छ: कृष्ण प्रसाद सापकोटा (अन्तर्वार्ता)

काभ्रेमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले २०६३ सालमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको स्थापना भएको हो । CTEVT बाट सम्बन्धन प्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षालय बनेपाले स्थापना कालको १६ औँ वषै पूरा गरी १७ औँ वर्षको यात्रा तय गर्दैै १७ औं व्याचका विद्यार्थीलाई स्वागत गर्नका लागि शिक्षालय अगाडि बढेको छ । प्रावधिक तथा व्यावसायिक शिक्षालय बनेपामा प्रि–डिप्लोमा तहको १८ महिने भेटेरीनरी जेटिए अध्यापन हुँदै आएको छ । बढ्दो प्राविधिक शिक्षाको माग र यसको उपादेयतासँग सम्बन्धित रहेर शिक्षालय प्रमुख कृष्ण प्रसाद सापकोटासँग काभ्रेपोष्टकर्मी बालकृष्ण बजगाईंले गरेको संवादको सारसंक्षेप: 

  • काभ्रेमा पशु स्वास्थ भेटिरिनरी विषयमा अध्यापन कहिलेबाट सुरुवात गर्नुभयो ? 

काभ्रेमा बनेपा प्राविधिक शिक्षालयको सुरुवात २०६३ सालमा भएको हो । नेपाल सरकारको प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट सम्बन्धन प्राप्त भएपछि संस्था अगाडि बढेको हो । अहिलेसम्म यस शिक्षालयबाट १६ औँ व्याचका विद्यार्थीहरुको अध्ययन सकिएको छ भने अहिले १७ औँ ब्याचको लागि साउन २८ गतेसम्म नयाँ भर्नाको लागि आवेदन फाराम खुल्ला गरेका छौँ ।

  •  तपाईको विचारमा प्राविधिक शिक्षा भनेको के हो ?

कुनै पनि विद्यार्थीले शिक्षा ग्रहण गरेपश्चात सरकारी या अन्य क्षेत्रमा जागिर नपाएको खण्डमा स्वयं आफैंले रोजगारीको सिर्जना गर्न सक्ने विषय प्राविधिक शिक्षा हो भन्ने मलाई लाग्छ । आफैले पसल खोलेर, फिल्डमा गएर आफै पनि व्यवसायी बनी आत्मनिर्भर बन्ने सक्षम बनाउन सहायता गर्ने शिक्षा प्राविधि शिक्षा हो । जागिर नपाएको अवस्थामा बेरोजगारी बस्नुपर्ने स्थितिको अन्त्य गर्ने शिक्षा नै प्राविधिक शिक्षा हो ।

  • आजको समयमा प्राविधिक शिक्षा किन आवश्यक छ ?

व्यावहारिक जीवनमा लागु हुने र रोजगारी सिर्जनाका सम्बन्धमा प्राविधिक शिक्षा अत्यन्तै आवश्यक र सान्दर्भिक पनि छ । विद्यार्थीले हाँसिल गरेका सीप व्यवहारमा लागु नहुने अवस्थाको अन्त्य गर्नका लागि प्राविधिक शिक्षा अपरिहार्य बन्न पुगेको छ । आफैले सानो पूँजीबाट व्यवसाय गर्न र आत्मनिर्भर गर्न सहयोग गर्ने भएकाले प्राविधिक शिक्षा अन्य शिक्षा भन्दा फरक शिक्षा हो । उपल्लो शैक्षिक योग्यता हाँसिल गरेपनि रोजगारी नपाएर हुने गरेको बेरोजगारी समस्या रहने हुँदा आजको समयमा प्राविधिक शिक्षा आवश्यक छ ।

  •  प्राविधिक शिक्षामा नेपालको विकासक्रमलाई कसरी हेर्नुभएको छ ?

अहिले प्राविधिक शिक्षाको माग बढेसँगै र उत्पादनहरु (विद्यार्थीहरु) पनि बढेका छन् । सरकारी एवं निजी विद्यालयहरुमा पनि प्राविधिक शिक्षाको माग बढेको छ । प्राविधिक शिक्षा लिने व्यक्तिहरुले रोजगारी पाएका छन् । जसले गर्दा बेरोजगारी न्यूनीकरण भएको छ । विगतको तुलनामा सरकारले पनि प्राविधिक शिक्षाको क्षेत्रमा जनशक्ति विकास गर्ने विषयलाई ख्याल गर्दै भौतिक पूर्वाधार विकास गर्ने लगायतका काम गरी प्राविधिक शिक्षामा आकर्षण गर्ने विषयलाई अगाडि बढाउँदै लगेको पाएको छु ।

  • प्राविधिक तथा व्यावसायिक शिक्षालय बनेपा नै किन ?

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा अवस्थित यस शिक्षालयमा अध्ययन गरी निस्कनु भएका विद्यार्थीहरु स्थापना कालदेखि नै स्वरोजगार हुनुको साथै स्थानीय तहको पशु शाखामा कार्यरत रहेको, लोकसेवा परीक्षामा प्रतिस्पर्धा गर्न सक्षम रहदै आउनुभएको छ । व्यवहारिक र सैदान्तिक शिक्षाको सन्दर्भमा भन्नुपर्दा अन्य शिक्षालयमा पढेका विद्यार्थीको तुलनामा बनेपा प्राविधिक शिक्षालयमा अध्ययन गरी निस्कनु भएका भाइबहिनी अब्बल साबित हुनुभएको छ । उहाँहरु अहिले पनि काभ्रे लगायतका देशका विभिन्न स्थानीय तहको पशु स्वास्थ्य विभागमा कार्यरत हुनुहुन्छ । यसर्थ एसईई/एस.एल.सी. दिएर पशु प्राविधिक शिक्षा हाँसिल गर्न इच्छुक भाइबहिनीलाई यस शिक्षालयमा स्वागत गर्दछु ।

  • विद्यार्थी भर्ना प्रक्रिया र शुल्कको विषयमा पनि बताइदिनुहोस् न ?

सिटिइभिटीले भर्नाको लागि सूचना निकालेसँगै हामीले पनि नयाँ भर्नाको लागि सूचना निकाल्ने गर्दछौँ । विद्यार्थीहरुले फाराम भरी सकेपछि प्रवेश परीक्षा (इन्ट्रान्स परीक्षा) पास गर्नुपर्ने हुन्छ । सामान्यतया वर्षमा ४० जनाले पढ्न पाउनुहुन्छ । यही साउन १२ गतेदेखि २८ गतेसम्म भर्नाको समय छ । छात्रवृत्तिको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्नुहुन्छ । १ वर्ष कक्षामा पढ्नुपर्छ भने ६ महिना पशुसेवासँग सम्बन्धित सघ, संस्थामा ओजेटी गर्नुपर्दछ । पूरा कोर्स पढ्नका लागि जम्मा शुल्क १ लाख २० हजार रुपैयाँ लाग्छ । सुरुमा भर्नाका लागि ३० देखि ५० हजार बुझाउनेपर्ने हुन्छ ।

  • कृषि प्राविधिक भेटेरीनरी जे टि ए विषयको १८ महिने तालिम लिएका अध्ययन गरेका विद्यार्थीहरुले केकस्ता पेसा, जागिरमा आबद्ध छन् ?

नेपाल सरकारको लोकसेवा आयोगको प्रावधिक चौथो तहमा भिड्न योग्य हुन्छन् । यस अनुसार यहाँ अध्ययन गरेर निस्केका जनशक्तिहरु स्थानीय तहको पशुशाखामा कार्यरत छन् । जागिरका अलावा आफ्नै भेटेरीनरी क्लिनिक खोल्ने, गाउँघरमा कृत्रिम गर्भाधान, घुम्ती सेवा प्रदान गरी रोजगारी प्राप्त गरिरहनु भएको छ ।

  • शिक्षालय प्रमुखको हिसाबमा एसईई÷एस एल सी पास भएर बसेका विद्यार्थी र अभिभावकलाई यहाँको केही सन्देश छ कि ?

विगतमा व्याचरलर मास्टर्स पढिसक्नुभएका व्यक्तिहरुले अन्त जागिर नपाउनु भएको सन्दर्भमा यहाँ आएर शिक्षा लिएर आ–आफ्नो पेशामा आवद्ध हुनुहुन्छ । म चाहिँ अभिभावकलाई के भन्न चाहन्छु भने यो नै पढ्नुपर्छ भनेर आफ्ना छोराछोरीलाई भन्नु भन्दा पनि जुनसुकै प्रावधिक विषय अध्ययन गर्नका निम्ति तपाईंहरुले अभिप्रेरित गर्नुपर्दछ भन्ने भन्ने सन्देश दिन चाहन्छु ।

  •  कृषि प्राविधिक शिक्षालयहरु बिच बनेपा शिक्षालय नै किन त ?

हालसम्म यस शिक्षालयमा २४–२५ वटा जिल्लाका विद्यार्थीहरु शिक्षा हाँसिल गर्न आउनुभएको छ । हामीले सिटीइभिटीबाट दक्ष बनाउन सक्छौँ र बनाइरहेका छौँ । नेपाल सरकारको स्थायी र करारमा कार्यरत रहनु भएको छ । त्यसका लागि बनेपा प्राविधिक शिक्षालयमा स्वागत गर्दछु ।

  • जेहेन्दार, विपन्न नागरिकको लागि छात्रवृत्तिको व्यवस्था गर्नुभएको छ त ?

सिटीइभिटीबाट ३ जनाको लागि छात्रवृत्तिको व्यवस्था हुन्छ । त्यसका लागि छात्रवृत्ति फाराम भर्नुपर्ने हुन्छ । अध्ययन शुल्क तिर्नु पर्दैन । रजिस्ट्रेसन र परीक्षा शुल्क मात्र तिरे पुग्छ । आफ्नो स्टेशनरी र पोशाक खर्च चाहिँ विद्यार्थी स्वयंले जुटाउनु पर्ने हुन्छ ।

  •  अन्त्यमा, काभ्रेपोष्ट साप्ताहिक मार्फत केही भन्न चाहनुहुन्छ ?

काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशन भइरहेको यस काभ्रेपोष्ट परिवारलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु । साथै भर्खरै एसईई उत्तीर्ण भाइबहिनीहरुलाई एकपल्ट प्राविधिक तथा व्यावसायिक शिक्षालय बनेपाको कार्यालयमा आएर आफ्नो जिज्ञासा साथै जानकारी लिनसक्नुहुन्छ भन्न चाहन्छु ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.