फोहोर प्रशोधन प्लान्ट बनाउन तीन नगरपालिकाको ऐक्यबद्धता

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका तीन ठुला पनौती, धुलिखेल र बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन गरिने भएको छ । आज भदौ २६ गते आइतबार धुलिखेल नगरपालिकामा फोहोर व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा भेन्चर वेस्ट टु इनर्जी प्रा.लि. सह–संस्थापक विपुल राज पाण्डेले फोहोरबाट अर्गानिक मल, गुणस्तरीय प्रशोधित ग्यास उत्पादन गर्ने चरणहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

 

सह–संस्थापक पाण्डेले काम सुरु भएको १८ महिनाभित्र बायोग्यास निर्माण सम्पन्न गर्न सकिने बताए । भेन्चरका पाण्डेका अनुसार यो प्रविधिद्वारा उत्पादित फोहोरमैलाबाट निर्माण गरिने बायोग्याँस ९२ प्रतिशत शुद्ध हुने तर हामीले भान्सामा प्रयोग गरिरहेको ग्याँस ६७ प्रतिशतमात्र शुद्ध हुने पाण्डेको भनाइ थियो ।

 

निर्माणको लागि कति खर्च लाग्छ भन्ने धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरको प्रश्नमा भेन्चर बायोग्यासका पाण्डेले प्लान्टको विस्तृत परियोजना रिर्पोट (डिपिआर) बनाउन २ देखि ३ महिना लाग्ने र प्लान्ट १५देखि २० करोडको लागतमा निर्माण हुने बताए । भेन्चर वेस्ट टु इनर्जीले यसअघि धरान उपमहानगरपालिकामा १ वर्षदेखि फोहोरबाट ग्याँस र मल उत्पादन गरिरहेको छ । संस्थाका सहसंस्थापक पाण्डेका अनुसार धरानमा उत्पादित फोहोरबाट दैनिक ४ सय केजी मल उत्पादन भइरहेको जसबाट हाइड्रोजन सल्फाइड जस्तो हानिकारक ग्यास उत्पादित नहुने जानकारी दिए ।

कार्यक्रममा धुलिखेल नगरपालिका नगरप्रमुख अशोक कुमार व्याञ्जुले धुलिखेल नगरपालिकालाई जिरो कार्बन सहर बनाउने योजना रहेकोमा जिरो कार्बन बनाउने हिसाबले काम गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रे उपत्यकाका ३ सहर बनेपा, पनौती र धुलिखेलमा नीजि तथा सरकारी स्तरका अस्पतालहरु पर्याप्त रहेकाले अस्पतालबाट सिर्जित फोहोरलाई प्राविधिक तथा वित्तीय रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयलाई समेटिनुपर्नेमा प्रमुख व्याञ्जुले ध्यानाकर्षण गराउनुभयो ।

 

प्रमुख व्याञ्जुले फोहोर व्यवस्थापनका लागि प्लान्ट निर्माणका लागि सामाजिक वातावरण र जग्गा व्यवस्थापन गराउने कार्य तीन नगरपालिकाको सहकार्यबाट गरिने बताउनुभयो । कार्यक्रममा फोहोर व्यस्थापनसँगै मल, ग्याँस लगायतका उपयोगी बस्तुहरू उत्पादन हुने बुझिएकोले आफू उत्साहि भएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाका सहरी क्षेत्रमा बसाइसराई लगायतका विविध कारणले फोहोरको उत्पादन दिनानुदिन बढ्दै गएकाले पर्याप्त फोहोर नहोला कि ? भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । फोहोर व्यवस्थापन सबैको साझा मुद्दा भएकाले धुलिखेल नगपालिका प्रमुख व्याञ्जु, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य एवं उपस्थित जनप्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् ।

 

फोहोर व्यवस्थापन सम्बन्धी धुलिखेल नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिका १२ वटै वडाका वडाध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु, सञ्चारकर्मी लक्ष्मण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.