काभ्रे महोत्सव २०७९ सुरु

बनेपा । काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा आजबाट बनेपामा काभ्रे महोत्सव सुरु भएको छ । पाँचौ काभ्रे महोत्सव-२०७९ व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि  नारालाई आत्मसाथ गर्दै आयोजित महोत्सवको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरेका छन् । मन्त्री श्रेष्ठले स्थानीय पालिकाहरू र प्रदेश सरकार समन्वय गरेर औधोगिक योजना बनाउने, रकम विनियोजन गर्ने जस्ता कार्य अघि बढाइ औधोगिक क्रियाकलाप अगाडि बढाउन आग्रह गरे ।

 

सबै मिलेर अगाडि बढ्न सकेमा नेपाली जनताको आयस्तरमा सुधार गर्न सकिने मन्त्री श्रेष्ठको भनाई थियो । उद्योग वाणिज्य संघको हकहितमा बागमती प्रदेश सरकार तत्पर रहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

 

नेपाल उद्योग वाणिज्य महासंघका महासचिव अञ्जन श्रेष्ठले मेलालाई विशिष्टीकरण गरी स्थानीय कला र वस्तुको प्रदर्शनी गर्नुपर्नेमा जोड दिए । व्यवसायीहरूको मानमर्दन नहुनेगरी अनुगमन गर्नको लागि प्रशासनसँग उनले अनुरोध गरे ।

उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ ले नगर वा पालिका प्रमुखसँग व्यवसायी सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काभ्रे जिल्ला प्राकृतिक रुपले सुन्दर भएको र यहाँको कलासंस्कृति, र स्थानीय वस्तुको प्रवर्धन गर्न आयोजना गरिएको मेलाको सफलताको शुभकामना दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै मेला सफल बनाउन जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने बताउनुभयो ‌। गौतमलेे १३ दिने महोत्सवको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले आवश्यक पूर्वाधारको सम्पूर्ण तयारी नसरी हतारहतारमा महोत्सव गर्दाखेरि व्यवस्थापनमा कमजोरी रहेपनि मेला सफलताताको कामना गर्नुभयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जुले १३ दिने मात्र नभई सदावहार रहनुपर्ने र स्थानीय वस्तुहरू, कलासंस्कृतिको जोगर्नातर्फ स्थायीरूपमै गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनि कार्यक्रम पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

मेला १३ दिनसम्म आयोजना गरिने र मेलाको अवलोकनबाट फाइदा लिन सक्ने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदारले बताउनुभयो । साथै महासचित बैदारले महोत्सवमा बिक्रीवितरण हुने सामग्रीहरू विशेष छुटमा विक्री वितरण भइरहेको बताउनुभयो ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंको सभाध्यक्षमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासँघका स्थानीय, जिल्लागत एवं केन्द्रिय अध्यक्ष, सदस्यहरूको उपस्थिति रहेको थियो । त्यसैगरी उद्योग वाणिज्य संघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रिय सदस्य सुरकृष्ण वैध, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, महासचिव रविन्द्र वैदार, पत्रकार महासँघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतका सक्रिय सञ्चारकर्मीहरू, बनेपाका विभिन्न विद्यालयबाट विद्यार्थी, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष ग्रुबेन तौजलेले गरेका थिए ।

कार्यक्रमको दौरान वर्षाले बिथोल्ने प्रयास गरेतापनि आयोजकले यसलाई शुभ सुरुवातको रुपमा लिएको छ । भोलिबाट नियमित रुपमा सांस्कृतिक, खेलकुद, स्थानीय एवं व्यावसायिक सामाग्रीहरूको व्यापक प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.