भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानवीन गर्न मानव अधिकार एलाइन्स सिन्धुपाल्चोकको माग

सिन्धुपाल्चोक । भ्रष्टाचार बिरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री र सम्माननीय सभामुख लाई जेठ ४ गते ज्ञापन पत्र बुझाएको छ ।

मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष नातिबावु धिताल द्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बुझ्दै आजै सम्बन्धित निकायमा पठाउने बताउनु भयो ।

अध्यक्ष धितालले बुझाउनु भएको ज्ञापन पत्रमा भनिएको छ – नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाइ तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचार प्रति मानवअधिकार एलाइन्स जिल्ला शाखा सिन्धुपाल्चोकको गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागिरकहरूलाइ अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरूपयोग हो ।

नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानुनी शासन प्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय हो । यस्ता अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषी माथी कडा कारवाही गरिनु पर्दछ ।

आम जनसमुदायमा राज्य व्यवस्था, राज्यका अंग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरू प्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचार सम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानवीन गर्न, दोषीलाइ कानुनको कठघरामा उभ्याउन र मुलुकमा विद्ममान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकार समक्ष मानव अधिकार एलाइन्स जिल्ला शाखा, सिन्धुपाल्चोक जोडदार माग गर्दछ ।

साथै, अनुसन्धान प्रकृयालाइ सहयोग गरी मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासनको प्रत्याभूति कायम गराउन र मानव अधिकारको प्रत्याभूति गराउन सम्पूर्ण सरोकारवालाहरू समक्ष जोडदार माग गर्दछौँ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा एलाइन्सका पदाधिकारीहरु लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.