मण्डनका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

कुन्तावेंशी । मण्डनदेउपुर नगरपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ को एसईई परीक्षा लगायत विभिन्न तहमा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको हो ।
कुन्ताबेसीमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाबाट कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धि हासिल गरेका विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो । नगरपालिकाबाट एसईई २०७९ मा सामुदायिक तर्फ इन्द्रावती मावि ज्याम्दीका छात्र र संस्थागत तर्फ मण्डनभ्याली एकेडेमीका छात्रा जिल्ला टप भएका थिए ।
नगरपालिकाकाले ६९ जना विद्यार्थीलाई सम्मान गरेको हो । जस मध्ये ६० जना एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रहेका छन् । त्यस्तै ५ वटा संस्थागत र सामुदायिक विद्यालय समेत सम्मानित भएका छन् ।
नगरपालिकाले कक्षा ५ को नगरस्तरीय परीक्षामा उत्कृष्ट नम्बर ल्याएका द्वारपालेश्वर मावि मानेडाँडाका अनुषा तामाङ (७६.८५ प्रतिशत) र भगवती आधारभूत विद्यालय गैराथोकका शिशिर तामाङ (७४.८३ प्रतिशत) लाई नगद ३÷३ हजारसहित सम्मान गरेको छ ।
कक्षा ८ को नगरस्तरीय परीक्षामा सामुदायिक विद्यालय तर्फ इन्द्रावती माविका सजिता पराजुली (३.६८ जिपीए), सोही विद्यालयका निश्चल भण्डारी (३.६५ जिपीए), संस्थागत विद्यालय तर्फ विज्डम कम्युनिटी स्कुल सिपाघाटका स्वेच्छा डोटेल (३.७८ जिपीए) र मण्डनभ्याली एकेडेमीका युनिक कुँवर (३.६५ जिपीए) लाई ३/३ हजार नगद सहित सम्मान गरिएको शिक्षा शाखाका अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभयो ।
एसईईमा सामुदायिक विद्यालय तर्फ ३.७५ जीपीए ल्याएर जिल्ला टप भएका इन्द्रावती माविका असल पराजुली र संस्थागत तर्फ ३.९५ जीपीए ल्याएर जिल्ला टप भएका मण्डनभ्याली एकेडेमीका आर्जु श्रेष्ठलाई नगरपालिकाले जनही ७/७ हजार नगद सहित सम्मान गरेको छ ।
नगरपालिकाले एसईईमा ३.२ देखि ३.६ जीपीए ल्याउने ४७ जनालाई ३÷३ हजारका दरले सम्मान गरेको छ भने ३.६ भन्दा माथी ल्याउने ११ जनालाई ४÷४ हजारका दरले सम्मान गरेको शिक्षा शाखा अधिकृत विष्टले बताउनुभयो ।
नगरपालिकाले कक्षा १२ को परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । बाग्देवी मावि देउरालीका नवीन तामाङ (३.२७ जीपीए), इन्द्रावती माविका देव बहादुर माझी (३.२२ जीपीए) र इन्द्रावती माविकै रमेश बहादुर रेग्मी (३.२१ जीपीए) लाई ४÷४ हजार नगद सहित सम्मान गरिएको हो ।
त्यस्तै एसईईमा ३.४८ औषत नजिता ल्याउने मण्डनभ्याली एकेडेमी र २.९९ औषत नजिता ल्याउने इन्द्रावती माविलाई सम्मान गरिएको छ । कक्षा ८ मा ८०.३६ औषत नजिता ल्याउने विज्डम कम्युनिटी स्कुल र ७१ औषत नजिता ल्याउने भद्रकाली आधारभूत विद्यालय सम्मानित भएका छन् । त्यसैगरी कक्षा ५ को परीक्षामा ६७.२२ औषत नतिजा ल्याउने भगवती आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।
नगरपालिकाभित्र १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी जम्मा १६ वटा विद्यालयका ४२५ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।
नगरप्रमुख टोक बहादुर वाईबाको सभाअध्यक्षता तथा उपप्रमुख विष्णुमणि नेपालको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा. लोक बहादुर लोप्चन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर स्तरीय नीति तथा योजना आयोगका उपाध्यक्ष सहित सदस्यहरु, नगर शिक्षा समितिका सदस्यहरु, सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक सहभागि हुनुभएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.