छात्रवृत्तिका आवेदकहरूलाई १५ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति आवेदन दिने बिद्यार्थीहरुका लागि १५ वटा परीक्षा केन्द्र तोकेको छ ।

महानगरले तोकेका केन्द्रहरु भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको हो ।

त्यसैगरि पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी, सिद्धेश्वर मावि शान्तिनगरमा पनि केन्द्र तोकिएका छन् ।

कक्षा ११ को विभिन्न संकायमा परीक्षा दिने विद्यार्थी ६ हजार १७ जना रहेको काठमाडौं महानगर पालिका शिक्षा बिभागका शिक्षा अधिकृत मोती प्रसाद भट्टराईले जानकारी दिनुभयो । 

छात्रवृत्तिका लागि सबैभन्दा धेरै विज्ञान विषयमा ४ हजार १ सय ५५ जनाले आवेदन गरेका छन् । व्यवस्थापन बिषयमा १ हजार ४ सय ८४ जना र प्राविधिक विषयका लागि २ सय ४५ जना, मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थीको आवेदन परेको शिक्षा अधिकृत भट्टराईले बताउनुभयो । 

परिक्षा साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुनेछ । काठमाडौं महानगरमा कक्षा ११ र १२ मा अध्यापन गराउने उच्च मावि कलेजहरुले अनिवार्य रुपमा १० प्रतिशत कोटा छात्रवृत्तिमा छुट्याउनुपर्ने ब्यवस्था काठमाडौं महानगर पालिकाले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.