नगरकोटमा तरकारीको हाट बजार सुरु, हप्तामा दुई बार सञ्चालन गरिने

नगरकोट । पर्यटकीय क्षेत्र नगरकोटमा ईतिहासमै पहिलो पटक प्राङ्गारिक उन्मुख तरकारीको हाट बजार सुरु गरिएको छ ।

मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित प्राङ्गरिक उन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हाट बजारको नगरप्रमुख टोक बहादुर वाईबाले शुभारम्भ गर्नु भएको थियो ।

हाट बजार प्रत्येक हप्ताको शुक्रबार र शनिबार सञ्चालन हुनेछ । प्राङ्गारिक तरकारीको हाट बजार शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले नगरकोट क्षेत्रका होटल ब्यवसायीलाई मण्डनदेउपुर नगरपालिकामा उत्पादित तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन बृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो ।

नगरप्रमुख वाईबाले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीय स्तरमै उत्पादित प्राङ्गारिक उन्मुख तरकारी यहाँका होटलहरुले आफ्नो पाहुनालाई खुवाउन अनुरोध गर्नुभयो ।

उत्पादित तरकारी होटलले खपत गरिदिँदा किसानलाई बजारको चिन्ता नहुने मेयर वाइबाको भनाई थियो । आफ्ना ग्राहकलाई स्थानीय उत्पादन खुवाउन व्यवसायीलाई वाइबाले आग्रह गरे ।
नगरकोट क्षेत्रमा सितभण्डारण निर्माण गर्न आवश्यक भएको नगरप्रमुख वाइबाले बताए । त्यसका लागि नगरपालिका विभिन्न संघसंस्थासंग साझेदारी गर्न तयार रहेको बाइबाले बताए ।

चाँगुनारायण नगरपालिकाको वडा नं. ६ को चोकमा हाटबजार सञ्चालनमा ल्याइएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल, काभ्रे शाखा अन्तर्गत काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमको ब्यवस्थापनमा हाटबजार सञ्चालन गरिएको हो । परियोजना विगत दुई वर्षदेखि मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा सञ्चालित छ । २० वटा प्राङ्गारिक कृषक समूहमा ५०६ जना किसान आबद्ध रहेको परियोजनाका कृषि प्राविधिक जगत बहादुर शाहीले जानकारी दिनुभयो ।

हाटबजारको पहिलो दिन विक्री गर्ने किसान र खरिद गर्ने उपभोक्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । यसलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको नगरप्रमुख वाईबाले बताउनुभएको छ । हाट बजार सञ्चालनमा आएपछि होटल तथा पर्यटन ब्यवसायी निकै खुशी भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईँले हाट बजारले किसानमा जागरण ल्याएको बताउनुभयो । किसानले उत्पादन गरेको चिज, किसानले नै बिक्री गर्न पाउनु राम्रो कुरा भएको वडा अध्यक्ष बजगाईंले बताउनुभयो ।

वडा नं. २ का वडा अध्यक्ष राज कुमार मल्ले पर्यटकीय क्षेत्रमा अति आवश्यक हाटबजार प्रारम्भ हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । ढिलै भएपनि राम्रो काम थालनी भएको भन्दै उहाँले हस्ताकलाका सामग्री समेत हाट बजारमा विक्रीका लागि राख्नु पर्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर लामाले नगरकोटमा अब हरेक हप्ता शुक्रबारे हाट बजारको रूपमा विकास गर्ने बताउनुभयो । सबै पक्षसंग हातेमालो गर्दै प्रत्येक शुक्रबार मेलाकै रूपमा ब्यवस्थित गर्दै जाने उहाँको भनाई थियो ।

काभ्रे एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्री प्रसाद माकाजुले किसानलाई बजारीकरणमा हाटबजारले सहयोग पुगेको बताउनुभयो । स्थानीय स्तरमा उत्पादन भएका प्राङ्गारिक तरकारी चिनो स्वरूप अन्य ठाउँमा समेत लैजान सकिने माकाजुले बताउनुभयो । माकाजुले हाट बजारमा किसानले बिक्रीका लागि ल्याएको तरकारी घर फिर्ता नलैजाने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीय स्तरकै तरकारी उपलब्ध गराउन हाट बजारले मद्दत पुग्ने बताउनुभयो ।

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरूको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाट बजारको गरिएको हो ।

मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहका सचिव गणेश घोरासैनीले प्राङ्गारिक तरकारी खेतीको उचित मूल्यांकन नभैरहेको अवस्थामा हाट बजारले किसानलाई हौसला प्रदान गरेको बताउनुभयो ।

वडा नं. ३ नयाँगाउँ मानेडाँडाका किसान टुक प्रसाद तिमल्सिनाले बिना विषादी तरकारी उत्पादन तर्फ किसानहरु लागिसकेको भन्दै यस्ता बजारले थप उत्प्रेरणा दिने बताउनुभयो ।

वडा नं. ४ सर्वझाङका किसान राम बहादुर बजगाईंले हाट बजारले किसान र उपभोक्तालाई विचौलियाबाट हुने ठगी नियन्त्रण गराउँदै सुपथ मुल्यमा स्वच्छ र ताजा तरकारी खान पाउने अवस्थाको सिर्जना भएको बताउनुभयो ।

हाट बजारमा किसानले गोलभेँडा, काँक्रो, फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, नास्पाती, रैथान कुखुरा, धनियाँ, कागती, रैथाने बोडी, निउँरो, जिम्बु सुकेको सिमी, प्याज, लसुन राखेका थिए । त्यस्तै घ्यू, मह र विभिन्न जातका फलफूलका विरुवा समेत बिक्रीका लागि राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.