ज्योति मिर्मिरे साकोसको २४ औं सभा

पनौती । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले ज्योति मिर्मिरे सामुहिक साकोस पनौतीको मात्र नभई देशकै नमुना सहकारी रहेको बताउनुभयो । नगरप्रमुख भण्डारीले सहकारीहरु सहकारीको ऐन नियम र कानुन अनुसार सञ्चालन भएमा कुनै समस्या नरहने बताए । व्यक्तिगत रुपमा सञ्चालन भएका सहकारीहरु मात्र आर्थिक समस्यामा पर्दै जाने जिकिर गर्नुभयो । सहकारीहरुले आफ्नो सदस्यहरुलाई उद्यमी बनाउन विभिन्न सिपमूलक कार्यक्रमको आयोजना गर्न लगायत क्षेत्रहरुमा नगरपालिकाले समेत सहकार्य गर्दै जाने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख गीता बञ्जाराले ज्योति मिर्मिरे साकोस एक अब्बल संस्था रहेको बताउनुभयो । अर्थतन्त्र सुधारोन्मुख बनाउन सहकारीहरुले ठुलो भूमिका खेल्ने समेत बञ्जाराले बताउनुभयो । ज्योति मिर्मिरे साकोसले आफ्ना सदस्यहरुलाई विभिन्न उपयुक्त कार्यक्रम ल्याएर प्रोत्साहन गर्ने गरेको छ । विभिन्न अस्पताल क्लिनिकमा उपचारमा छुट, सहुलियतमा कृषि औजार वितरण पशु तथा बाली बिमा एकाघर परिवारको मृत्युमा राहत जस्ता कार्यक्रमहरु साकोसले आफ्नो सदस्यहरुलाई दिने गरेको उल्लेख गर्नुभयो ।

ज्योति मिर्मिरे सामुहिक साकोसका अध्यक्ष उद्धव सापकोटाले निम्न समुदाय वर्गमा समेत वित्तिय पहुँच पु¥याउन सफल भएको बताउनुभयो । ज्योति मिर्मिरे साकोसले आफ्नो सदस्यहरुको बचतको संरक्षण गर्ने बताउनुभयो । ज्योति मिर्मिरे साकोस बागमती प्रदेशकै उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न समेत अध्यक्ष सापकोटाले आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका सचिव बुद्धसिंह थापाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भीमसेन केसीले सभामा प्रस्तुत गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले विभिन्न सामाजिक क्रियाकलपाहरु समेत गर्दै आएको बताए । आफ्ना सदस्यहरुको लागि ज्योति मिर्मिरे साकोसले नवदुलही स्वागत, सदस्य स्वास्थ्य सुरक्षण, गर्भवती पोषण, बालबालिका जन्म उत्सब, सहकारी शिक्षा शिविर, ऋण बिमा, पशु तथा बालीबिमा, आधुनिक प्रविधिको उच्चतम प्रयोग, स्वास्थ्य शिविर, विभिन्न सिपमूलक तालिम, सामूहिक कृषिमा लगानी लगायतका सदस्यमुखी कार्यक्रमहरु गर्दै आएको दाहालले बताए ।
साधारण सभाकै अवसरमा मानसिक अस्पताल पाटनका निर्देशक वरिष्ठ डा. अनन्त अधिकारीलाई विशिष्ट सदस्यका रुपमा सम्मान गरिएको थियो । साथै सहकारीले सदस्यहरुमध्ये उत्कृष्ट कारोबार गरेका सदस्यहरुलाई सम्मान गरेको थियो । सभाकै अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

संस्थाको शेयर पुँजी १० करोड ९० लाख ५२ हजार १ सय, निक्षेप ७७ करोड ३७ लाख ३० हजार, ऋण लगानी ८५ करोड ७९ लाख १२ हजार ५ सय ५७ रहेको छ ।
साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारीका महासचिव जीवराज खड्का, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सह सचिव विकास बादे, सहकारी अभियानका नेता कृष्णप्रसाद तिमल्सिना, पनौती नगरपालिका वडा नं.४ का वडाध्यक्ष दीपक दाहाल, नेफस्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहकारी अभियान्ताहरु, विभिन्न सहकारीका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, पत्रकारहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.