बेथानचोकका सडक कालोपत्रे

बेथानचोक । बेथानचोक गाउँपालिका वडा नं.४ पाटीखर्क–चलागणेशस्थान–आलुबारी सडक धमाधम कालोपत्रे भइरहेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट कालोपत्रे गरिएको हो । कुल लागत ९ करोड रुपैयाँ अनुमान गरेर टेन्डर आह्वान गरेपनि इबिडिङ मार्फत निर्माण कम्पनीले ५ करोड ५० लाख ४ हजार ९ सय ३१ रुपैयाँमा ठेक्का प्राप्त गरेका हुन् । जोशीजी÷घिसिङ जेभीले गाउँपालिकासँग गतववर्ष पुस ११ गते सम्झौता गरेको हो । त्यस अनुरुप निर्माण कम्पनीले ३.७ किलोमिटर सडक पक्की निर्माण गर्न लागेको हो । विभिन्न स्थानमा निर्माण कम्पनीले आरसीसी ढलान गरिसकेको र अहिले आस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिरहेको बताइएको छ ।

पनौतीदेखि च्याम्राङवेशी, ललितपुरहुँदै मकवानपुरको फापरबारी बजारसम्म बाटो खुलिसकेको भएपनि सडक स्तरोन्नति हुन सकेको थिएन । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको पहलमा ललितपुरको महांकाल र बागमती गाउँपालिकाका अध्यक्ष सहित बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री युवराज दुलालसँग बसेको बैठकले पनौती –बेथानचोक–महांकाल–बागमती–हेटौडा जोड्ने सडकलाई स्तरोन्नति गरि बैकल्पिक मार्ग बनाउने निर्णय गरेको थियो । बेथानचोक गाउँपालिकाले आन्तरिक स्रोतबाट करिब ५ कि.मी. सडक स्तरोन्नति गर्ने, कालोपत्र गर्ने अध्यक्ष अधिकारीको भनाई छ । आफ्नो कार्यकालको ५ वर्ष अवधिमा २५ कि.मी. पक्की सडक निर्माण गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

बेथानचोक गाउँपालिकालाई देशकै कृषि र पर्यटनको केन्द्र बनाउनका लागि सडक स्तरोन्नति गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिका पर्यटकीय केन्द्र भएको तर गुणस्तरिय सडक नहुँदा त्यसको प्रवर्धन हुन नसकेको भन्दै अध्यक्ष अधिकारीले सडक स्तरोन्नतिसँगै बेथानचोक नारायणस्थान लगायतका क्षेत्र आन्तरिक पर्यटकको पहिलो रोजाई हुने बताउनुभयो । सडक सञ्जाल नै विकासको पहिलो आधार भएको र गाउँपालिकाले यसै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । ढुंखर्कदेखि मकवानपुरको फापरबारी ५३ किलोमिटर सडक स्तरोन्नति हुँदा काभ्रेबाट हेटौडा पुग्न सजिलो हुने र दुरी छोटिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.