जिससको तेस्रो प्रगति समीक्षा

राजनीतिक स्थायित्व भएमा मात्र देशले प्रगति गर्न सक्छ: मन्त्री जोशी

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा चालु आर्थिक वर्षको त्रैमासिक अवधिसम्म को प्रगति समीक्षा एवं सङघ, प्रदेश तथा स्थानीय स्तरमा प्रवाह हुने सेवा र विकास निर्माणको गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले राजनीतिक स्थायित्व भएमा मात्र देशले प्रगति गर्न सक्ने बताए । विकासको गतिमा दौडिरहेको दुई छिमेकी राष्ट्र चिन र भारतले गरेको प्रगतिको समिक्षा गर्नुपर्ने बताए । संघीयता जनताको सेवा प्रवाह सहज बनाउने बन्न नसकेकोमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबिच साझेदारी, समन्वय गर्नुपर्ने बताए ।
कर्मचारीलाई सम्बोधन गर्दै मन्त्री जोशीले नीजि क्षेत्रमा थोरै पारिश्रमिकमा पनि नतिजामुखी काम हुने तर सरकारी क्षेत्रमा कार्यरत जनशक्ति क्षमतावान् हुदा पनि इमान्दार हुन नसकेकाले अपेक्षाकृत नतिजा आउन नसकेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतमले जनप्रतिनिधि र कर्मचारी एक आपसमा समन्वय गरेर अघि बढ्न पर्ने बताए । म होइन हामी भनेर सामुहिक प्रयासमा लाग्न जिसस प्रमुख गौतमले सुझाएका थिए । विकास र समृद्धिको प्रचुर सम्भावना भएको काभ्रेपलाञ्चोक जिल्लामा आफू समन्वयको भूमिका खेल्न तयार रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव हुमकला पाण्डेले काभ्रे जिल्लामा जिसस र स्थानीय सरकारका प्रतिनिधिहरूको प्रशंसायोग्य समन्वय रहेको बताइन। किसानको समीक्षा कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरू आफै उपस्थित हुनु सकारात्मक रहेको सचिव पाण्डेको भनाई थियो । विकास निर्माण, सार्वजनिक सेवा प्रवाहमा प्रदेशबाट गर्नुपर्ने समन्वय र सहयोगको लागि आफू तयार भएको पाण्डेले बताइन् ।
कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छाले जिम्बाले संघीयताको सही अभ्यास स्थानीय तहले मात्रै गरेको बताए । तर संघ तथा प्रदेश सरकारले प्रधानमन्त्री र मुख्यमन्त्रीको हस्ताक्षरको भरमा योजना पारित, कार्यान्वयनमा लाने लोकतन्त्रको सही अभ्यास नभएको तर्क गरे ‌ ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङ, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेन नगर उपप्रमुख निराजन जंगम, नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्न बहादुर लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङ जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख/ प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.