रोशीको परिचय बदल्नेछु: अध्यक्ष पदका उम्मेद्वार देवसागर लामा

काभ्रेली राजनीतिमा  देवसागर लामा परिचित नाम नै हो ।  विगतदेखि वर्तमानसम्म राजनीतिक एवं सामाजिक क्षेत्रमा आफ्नो समय व्यतित गर्दै आएका छन् । आसन्न वैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनमा जिल्लाको रोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेपछि भने उनी चर्चामा छन् ।

२०७४ सालको स्थानीय तहको चुनावमा रोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारे पनि उल्लेख्य काम गर्न नसकेको लामाको दाबी छ । 

स्थानीय निर्वाचन २०७९ मा एमालेका उम्मेदवार लामा रोशीको परिचय वदल्ने अठोटसहित चुनावी मैदानमा उत्रिएका छन् । २०३५ साल वैशाख २८ गते जन्मिएका लामा २०५१ सालदेखि अनेरास्ववियुमा आवद्ध हुँदै राजनीतिमा लागेका हुन् ।

२०५४ सालमा अनेरास्ववियुको क्षेत्रीय अध्यक्ष, २०५५ सालमा जिल्ला कमिटी सदस्य, सोही बर्ष जिल्ला कमिटी कोषाध्यक्ष, भएका लामा २०६३ सालमा युवा संघ नेपालको जिल्ला कमिटी सदस्य र २०६५ सालमा युवा संघको जिल्ला कमिटी कोषाध्यक्ष भए । २०६६ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बनेका लामा २०६९ सालमा युवा संघ केन्द्रीय युवा संघको केन्द्रीय सचिवालय सदस्य भए । २०७८ साल कार्तिकमा भएको अधिवेशनपछि उनी नेकपा एमाले रोशीको अध्यक्षको रुपमा रहेका छन् ।

व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका लामा अधिवक्ता पनि हुन् । उनी १४ बर्ष प्राध्यापन तथा २४ बर्ष सहकारी क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । कस्ता छन् त लामाका योजना अनि उनको जितका आधार ? रोशी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार उनै लामासँग स्थानीय चुनाव र समृद्ध  रोशी कसरी बनाउने भन्ने विषयमा गरिएको कुराकानी:

 

  • रोशीमा तपाईको उम्मेदवारी किन ?

मेरो उम्मेदवारी रोशीको राजनीतिक हो । रोशी खोलामा आज अन्य दलको राजनीतिक नेतृत्वको परिचयले काभ्रेमा मात्र होइन समग्र देशमा नै रोशी खोलाको राजनीतिक नेतृत्व भनेपछि गुण्डागर्दिमा विद्यावारिधी गरेकाहरु, अकुत सम्पत्तिधारीहरु, प्राकृतिक स्रोत र साधनको दोहनमा अग्रमोर्चामा रहेकाहरु भन्ने जुन परिचय छ, म त्यो बदल्न चाहन्छु ।

मलाई मेरो पार्टी नेकपा एमालेले रोशी खोलामा त्यो निष्ठाको राजनीति गर्छ, गलत कार्यको खरो ढंगले प्रतिवाद गर्न सक्छ भन्ने विश्वासको साथ पालिकाको नेतृत्व गर्नको निमित्त पठाएको छ ।

म आम रोशीवासी समुदायको काभ्रेमा मात्र होइन समग्र देशमा नै रोशीको राजनीतिक नेतृत्वको परिचय असल सामाजिक कार्यकर्ताको रुपमा अगाडि बढाउन मेरो उम्मेदवारी रहेको सम्पूर्ण रोशीवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा जानकारी गराउन चाहन्छु ।

 

  • पालिका विकासको लागि तपाईंको प्रमुख योजनाहरु केके छन् ?

विद्यालय शिक्षालाई सहज बनाउनेछु । सामुदायिक विद्यालय जति पनि रोशी पालिका भित्र छन् ती सामुदायिक विद्यालयहरुलाई काभ्रे जिल्ला कै नमुना विद्यालयका रुपमा अगाडि बढाउन मेरो नेतृत्वमा सरकार बनेपछि सार्वजनिक शिक्षाको सवलिकरणमा मेरो पहिलो जोड रहनेछ ।

आधारभुत स्वास्थ्य सेवाको पहुँचलाई सहज पहुँचमा ल्याउन प्रयत्न गर्नेछु । निशुल्क स्वास्थ्य जाँच, निरोगी रोशी समाज भन्ने उद्घोषका साथ स्वास्थ्य क्षेत्रमा सुधारका कार्य अगाडि बढाउने छु । आम रोशीका वेरोजगार युवाहरूलाई सीप सहितको रोजगारको प्याकेजका योजनाहरु वडा तह सम्म नै सञ्चालन गर्नेछु ।

यस्ता पूर्वाधार विकासको कार्यमा आगामी एक दशक सम्मको पूर्वाधार बिकासको योजनालाई तत्काल, अल्पकालीन र दीर्घकालीन योजनामा समावेश गरेर अगाडि बढ्ने छु ।

मेरो वडा म बनाउछु, हाम्रो पालिका हामी बनाउने छौ भन्ने अभियान सञ्चालन गरेर हरेक बिकास निर्माणमा आम जनसहभागिताको अपनत्व वढाउने योजनाहरु अगाडि सार्ने छु ।

 

  • तपाईं निर्वाचित हुनुभयो भने केके सुधार गर्नुहुन्छ ?

म निर्वाचित भएपछि मेरो मातहतको जनप्रतिनिधिहरुलाई शासक होइन सेवकको रुपमा कार्य गर्नको निमित्त उत्प्रेरित गर्नेछु ।

मेरो पालिकालाइ सुशासनको नमुना पालिका बनाउने छु । मेरो मातहतका जनप्रतिनिधि र प्रशासकीय संयन्त्रलाई सदाचारी बनाउने छु ।

म सहित मेरा जनप्रतिनिधिहरु आफुले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् । म सहित मेरा पालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, आनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्ने र गराउनेलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भुमिका खेल्ने छौ ।

 

  • योजना प्राप्तिको आधार चाहिँ के हो त ?

सम्पुर्ण गाउँवासीबाट मैले त्यहाँको समस्याको गुनासो सूचि तयार गर्नेछु र मैले विज्ञहरुसहितको टोली निर्माण गरि ती समस्याको अल्पकालीन र दीर्घकालीन समाधानको योजना बनाउने छु ।

म भन्दा अगाडिको पालिकाको नेतृत्वले अगाडि सारेका समृद्ध रोशी निर्माणको अधुरो योजनाहरुलाई पूर्णता दिनेछु ।

केन्द्रीय सरकार र प्रदेश सरकारसंग पनि समृद्ध रोशी बनाउनको निमित्त आवश्यक पहलकदमी लिनेछु । रोशीको समग्र बिकासको खाका बनाई प्रदेश र केन्द्र सरकारसँग समेत आवश्यक सहयोगको निमित्त पहल गर्नेछु ।

 

  • रोशीमा तपाईंको जितका आधारहरु के के हुन् त ?

मेरो राजनीतिक र सामाजिक कार्यसँगै मेरो पार्टी नेकपा एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भुमिकाले आज मुलुकको विकासको आधार राष्ट्रिय स्वाधीनता जोगिएको यथार्थ आम नेपालीले बुझेका  छन ।

स्थानिय सरकारलाई निकम्मा बनाउन यो गठबन्धन सरकारले बेला बेलामा गरेको हर्कतलाई हाम्रो पार्टी नेकपा एमालेले जोगाएको छ ।

रोशी खोलामा नेकपा एमालेले नै बनाएको सांगठनिक जनाधार र आम जनसमुदायको भाषा नै मेरो जितको मुख्य आधार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.