सहकारीहरुका व्यवस्थापकहरुको गोष्ठी सम्पन्न

धुलिखेल । काभ्रे जिल्ला भरिका सहकारीहरुको व्यवस्थापकहरु सम्मिलित २ दिने गोष्ठी सम्पन्न भएको छ । काभ्रे जिल्ला सहकारी संघको आयोजनामा ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ भएको उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धिका लागि संघले दुई दिने गोष्ठी आयोजना गरेको थियो । गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुत गर्दै वित्तीय संरचना, वित्तीय व्यवस्थापन, पूँजीको स्रोत र प्रकार, पूँजी परिचालनको पूर्ण व्यवस्थापन जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोका, प्रभावकारी ऋण असुली विषयमा नेफ्स्कुनका सिइओ प्रकाश पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । पोखरेलले ऋण के हो ? भाखा नाघेको ऋण, भाखा नाघ्नुका कारण, ऋणका जोखिमहरु र न्युनिकरणका उपायमा प्रस्तुतिकरण गरेका छन् । एम बैंकका व्यापार प्रमुख सन्जय महासेठले सहकारी प्रविधिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी दोश्रो दिन नेफ्स्कुनका पूर्व सिइओ डा. शिवजी सापकोटाले इन्नोभेसन एण्ड एचआर म्यानेजमेन्ट इन कोप, एससीटि नेटवर्कका सीबीओ सुबोध गौतमले डिजिटाइजेसन इन् कोप्स र वल्र्ड डिष्ट्रिव्युसन नेपालका सिनियर म्यानेटर अशोक लामिछानेले एटिए इन कोअपरेटिभ्सको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी गोष्ठी नवराज फुयाँलले तनाव व्यवस्थापनका विषयमा सहभागीहरुलाई तालिम दिएका थिए ।

कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेल, पोखरा रोयल साकोसका प्रमुख मिलन ढकाल र कोन सामुदायिक साकोसका सीइओ अपिल कोइरालाले सहकारीमा मानव संशाधन व्यवस्थापन, बचत तथा ऋण परिचालन र सदस्यसँग गरिने व्यवहारका विषयमा आआफ्ना अनुभव साटेका थिए । सञ्चालक समितिले बनाएका कार्ययोजना कर्मचारीको टिमवर्कले मात्रै सफल हुने हुँदा कर्मचारीहरुलाई समयसुहाँउदो सेवासुविधा र उत्प्रेरणा दिन सके संस्थाले लिएको लक्ष्य प्राप्त गर्न सकिने उनीहरुको अनुभव छ ।

सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनिकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्य गोष्ठीको रहेको थियो । संघका अध्यक्ष दिलिप शर्माले गोष्ठीबाट सहकारी संस्थाका व्यवस्थापकहरुमा नयाँ उर्जा थपेको बताउँदै उनीहरुको कार्यशैलीमा नयाँपन आउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न सहकारी संस्थाका १३० जनाको सहभागिता रहेको थियो । सहभागिहरुले गोष्ठी लाभदायक भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.