मृत्यु भएका पशुको भुक्तानी यथाशक्य गर्न आग्रह

पशुलाई लम्पी स्किन भएमा के गर्ने ?

  • रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राख्ने ।
  • ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने .
  • प्रशस्त मात्रामा सफा पानी खान दिने ।
  • पातलो कुँडो वा नरम घाँस दिने, दाना पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गूँड पानी खुवाउने ।
  • गोठमा झिंगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठमा र गोठ वरिपरि झाडी तथा बुट्यान सफा गर्ने, पशुको वरिपरि किरा तथा भुसुना भगाउने किसिमका स्प्रेको प्रयोग गर्ने ।
  • आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई चरन, खर्क, आहालमा नलैजाने ।

 

धुलिखेल । बिमा गरिएका पशुको भुक्तानी यथाशक्य गर्न आग्रह गरिएको छ । भुक्तानी नभएको भन्दै गुनासाहरु बढेसँगै जिल्ला समन्वय समिति काभ्रेले यर्थाथ बुझ्न र किसानलाई यथाशक्य राहत दिने हिसाबले काम अगाडि बढाउन बिमा कम्पनीका प्रतिनिधि, पालिका पशु शाखा प्रमुख, सञ्चारकर्मी एव सरोकारवालाहरुसँग छलफल गरेको छ ।

लम्पी स्किनबाट ३ महिनामा २८ हजार ६५६ गाई, भैंसी लगायतका चौपायाहरु संक्रमित भएका छन् । लम्पी स्किन रोग महामारीको रुपमै फैलिइरहदा बिमा कम्पनीहरुले स्वस्थ पशुको बिमा गर्न नमानेको, बिमा गरेका मृत्यु भएका पशुको पनि भुक्तानी नपाएको लगायतका गुनासाहरु सुनिन थालेका जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतमले बताउनुभयो ।

काभ्रेमा आफ्नो शाखा भएर बिमा गर्दै आएका१४ बिमा कम्पनीका प्रतिनिधिहरुले चौपायो बिमाको भुक्तानी प्रक्रियागत ढिलाइ भएतापनि नरोकिने बताएका छन् ।

काभ्रे जिल्लाको कृषि क्षेत्रमा बिमाको जिम्मेवारी लिएको हिमालयन इन्सुरेन्सको सबैभन्दा बढी गुनासो आएको प्रमुख गौतमले बताएका छन् ।
कार्यक्रममा बोल्दै जिसस उपप्रमुख रिम बहादुर तामाङले एक पशु मर्दा किसानलाई दोहोरो घाटा हुने हुँदा किसानलाई बिमा दाबी भुक्तानी यथाशक्य छिटो दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बिमासँग सम्बन्धित स्थानीय तहका पशुपन्छी शाखा एवं बिमा कम्पनीहरुले बिमा गर्ने र बिमाको भुक्तानी छिटो, छरितो रुपमा दिन निर्देशन दिएका छन् ।

पशुको बिमा निरन्तरता र बिमाको भुक्तानीमा भएको ढिलाई र बिमाको सम्बन्धमा देखिएका समस्याहरु समाधान गर्नका निम्ति जिससको तर्फबाट समन्वय काम गर्न आफ्नो टिम सक्रिय रहने बताए ।
प्रमुख गौतमले बिमा गर्न र दाबी भुक्तानीमा आनाकानी गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि पत्राचार गर्ने लगायतका निर्णय भएको जानकारी दिनुभयो ।

लम्पी स्किन नेपालमा पहिलो पल्ट २०७७ मा सुन्दर हरैचा नगरपालिकाका गाईहरुमा देखा परेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा २०८० वैशाख पहिलो हप्ता धुलिखेलबाट संक्रमण फैलिएको हो ।

हाल लम्पीबाट काभ्रे जिल्लामा २८ हजार ६५६ पशुहरु संक्रमित भएका छन् भने १२ सय ७४ पशुको मृत्यु भएको छ । जिल्लाका पाँचखाल, बनेपा, पनौती, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा सबैभन्दा बढी पशुहरु संक्रमित पाइएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्लामा हाल ३६ हजार १०३ पशुहरूलाई लम्पी स्किन बिरुद्दको खोप लगाइसकिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ । काभ्रेमा यही साउन २५ गतेदेखि सप्ताहव्यापि खोप कार्यक्रम सञ्चालन गरि ५५ सय पशुहरुलाई साउन २५ देखि ३१ गतेसम्म खोप  लगाउने विज्ञ केन्द्रले जनाएको छ । जिल्लाका  धुलिखेल, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक र नमोबुद्ध नगरपालिकामा खोप लगाउने निर्णय भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.