रोशी गाउँपालिका परिसरमा सरसफाई

अमलटार । रोशी गाउँपालिकाको कार्यालय परिसरमा सरसफाई गरिएको छ । निजामती कर्मचारी सेवा दिवस २०८०, अन्तराष्ट्रिय साक्षरता दिवस र डेंगी बिरुद्धको राष्ट्रिय अभियान ‘खोज र नष्ट गर’ अभियानको अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले संयुक्त रुपमा कार्यालय परिसर सरसफाई गरेका हुन् । परिसरमा प्लाष्टिकजन्य फोहरहरू संकलन गरी सफा गरिएको हो ।

परिसर सरसफाई पश्चात शुभकामना आदानप्रदान कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताले अनुभुत गर्ने खालको सेवा प्रवाह गर्नुपर्ने बताए । ‘हामीले काम गरीरहेका छौँ, तर जनताले स्थानीय तहबाट सेवा पाईरहेको अनुभुत गरेको छैन भने निरर्थक हुन्छ ।’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘जो सेवाग्राही छ, जो टार्गेट ग्रुप छ उनिहरूले सेवा पाईरहेको छ भन्ने फिलिंस आउने गरी काम गर्नु पर्छ ।

राज्यले लिएको लक्ष र उद्देश्य प्राप्त गर्नको लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताउँदै अध्यक्ष लामाले जनप्रतिनिधिहरूले निति नियम निर्माण गर्ने र कर्मचारीले कार्यान्वयन गर्नुपर्छ भन्ने धारणा राख्नुभयो ।

आगामी फागुन २७ गते रोशी गाउँपालिकाको स्थापना दिवसको अवसरमा गाउँपालिकाको कर्मचारीहरू मध्येबाट कार्यसम्पादनमा उत्कृष्ठ भएका कर्मचारीलाई सम्मान गर्ने कार्ययोजना रहेको लामाले बताए । सो सम्मानमा पर्ने गरी काम गर्न कर्मचारीहरूलाई अनुरोध गरे ।

निजामती संघीय ऐन आउने तयारीमा रहेकै वेला सेवाको भन्दा अलि बढी सुविधाको कुरा उठाएर बिरोध उठाएको लामाले बताए । सेवाको आधारमा सुविधा दिने भएकाले सेवा र सुविधालाई सँगै उठाउनुपर्ने लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले नेपाल सरकारको लक्ष पूरा गर्न निजामती सेवा दिवसले सफलता प्राप्त होस भन्ने कामना गरेका छन् । ‘नेपाल सरकारको जो लक्ष छ, सुशासन कायम गर्ने, सामाजिक न्याय प्रधान गर्ने र समृद्धिको लक्ष यस दिवसले पूरा गर्न सकोस ।’ उपाध्यक्ष वाईबाले भने ।

संघीयता पूर्ण रुपमा लागु नभएको उपाध्यक्ष लामाले जानकारी दिए । तीन तहको सरकार बनेपनि अझै स्थानीय तहलाई पूर्णरुपमा अधिकार नदिएको उनको भनाई छ । स्थानीय तहलाई अझै प्रदेश र संघले लगाम लगाई रहेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कार्यालय परिसरलाई सरसफाई गरी वातावरण अनुकुल बनाउनुपर्ने बताए । सेवाप्रवाह गर्ने स्थान सफा भए मात्र काम गर्न जाँगर चल्ने उनको भनाई छ । त्यही कारण निजामती सेवा दिवस, अन्तराष्ट्रिय साक्षर दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।

२०७६ सालमा रोशी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको थियो । अझै सतप्रतिशत साक्षर भने भईनसकेको उनको भनाई छ ।
सार्वजनिक सेवामा जनप्रतिनिधि र कर्मचारी दुवै मिलेर अगाडी बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । जनप्रतिनिधि इलेक्टेड हुन्छ भने कर्मचारी ननईलेक्टेड हुने तर दुवै सेवाको लागि आएको उनले बताए ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले निजामती कर्मचारीले सेवाग्राहीलाई मुस्कानसहित सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । प्रहरी मेरो साथी भने जसरी नै कर्मचारी मेरो जस्तो भएर काम गर्नु पर्ने उनको भनाई छ । ‘कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्छ । प्रहरी मेरो सोथी भने जस्तै कर्मचारी मेरो साथी जस्तै गरी सेवाग्राहीलाई सेवा दिनुसक्नुपर्छ ।’ तामाङले भने, ‘अनि मात्र जनताले गाउँ–गाउँमा सिंहदरबार आएको महशुस गर्नसक्छ ।’ कर्मचारी स्थायी सरकार भएको तामाङले बताएका छन् । राष्ट्रिय गौरवका योजनाहरू प्रदेश सरकार र संघ सरकारले गर्नुपर्ने र साना आयोजनाहरू संघ सरकारले गर्नुपर्ने प्रवक्ता तामाङले बताए ।

संघीय शिक्षा ऐन ड्राफ्ट भैरहेको अवस्थमा शिक्ष नीति तयार भैसकेको र शिक्षा कार्यविधि बनाईरहेको बताए । बन्दै गरेको शिक्षा नीतिले रोशी गाउँपालिकामा साक्षरता एक सय प्रतिशत बनाउने उनले बताए ।

सो अवसरमा जनप्रतिनिधिहरू र कर्मचारीहरूको स्वास्थ्य परिक्षण पनि गरेका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाका प्राविधिकहरूले ब्लडप्रेसर, मधुमेह, तौल, मुटुको धड्कन लगायतको स्वास्थ्य परिक्षण गरेका थिए ।

योजना शाखाका प्रमुख रामबहादुर लामाले सञ्चालन गरेको कार्यक्रममा प्रशासकीय अधिकृत धनबीर लामाले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम लगायत गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुखसहितका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.