रेयुकाइको नेतृत्वमा नेत्र विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन हुँदै

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका साथै आसपासका जिल्लामा समेत गुणस्तरिय आँखाको उपचार सेवा प्रदान गरिरहेको रेयुकाई एइको मासुनागा आँखा अस्पतालले यही मंसिर २२ र २३ गते नेत्र विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

सम्मेलनको पहिलो दिन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले सञ्चालनमा ल्याएको नयाँ ओपिडी भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा अमेरिका लगायतका देशहरुबाट नेत्र विशेषज्ञहरुको सहभागिता रहने अस्पतालका प्रशासकीय प्रमुख हिरामणि शर्माले जानकारी दिनुभयो । सम्मेलनमा नेपालका विभिन्न अस्पतालका करिब १५० जना नेत्र विशेषज्ञ तथा अमेरिकाका करिब ५० जनाले सहभागिता जनाउने बताइएको छ ।

अस्पतालले तय गरेको कार्यक्रम अनुसार २२ गते नवनिर्मित भवनको उद्घाटन र २३ गते नेपाल तथा अमेरिकाका नेत्र विशेषज्ञहरुले आँखाको रोग सम्बन्धी समस्या, उपचार लगायतको विषयमा कार्यपत्र प्रस्तुत गर्ने प्रशासकीय प्रमुख शर्माले बताए । उक्त टोलीले रेयुकाई आँखा अस्पतालको ढल्केबर शाखा, जनकपुरको आँखा जाँच केन्द्रका साथै बनेपास्थित अस्पतालमा बिरामीहरुको उपचार समेत गर्ने अस्पतालले जनाएको छ ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्दै सिन्धुपाल्चोकको खाडीचौेर, धनुषाको ढल्केवर साथै भविष्यमा सुनसरीको धरानमा समेत सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालको काभ्रे जिल्लामा भकुण्डेवेशी, पाँचखाल लगायतको स्थानबाट सेवा प्रारम्भ गरिएको छ । रेयुकाई आँखा अस्पतालका अध्यक्ष मधु आचार्यले स्थानीय तहका सरकारले नागरिकको स्वास्थ्यमा उत्तरदायित्व बहन गर्दै आँखा उपचार गर्न उत्सुकता प्रकट गरेमा अस्पताल मोतियाबिन्दु तथा अन्धोपना निवारणमा सदैव तयार रहने बताउनुभयो ।

स्थानीय सरकारको समन्वयमा अस्पतालले पहिलोपटक बनेपा नगरपालिकाका २४ हजार बालबालिकाको आँखा निःशुल्क परिक्षण गरिरहेको जनाएको छ । अस्पतालले अघिल्लो आर्थिक वर्षमा ६० हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेकोमा ५५ हजार भन्दा धेरैलाई सेवा उपलब्ध गराएको जनाएको छ । अस्पतालले ४ सय ४५ जनाको आँखा अप्रेशन गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.