विद्यार्थीको गुनासो प्रत्यक्ष सुन्न भरतपुरका विद्यालयमा दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर नगरपालिका वडा नं. २७ मा रहेको जानकी माविका विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेकी छिन् ।

शुक्रबार विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रम अन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा,समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न प्रमुख दाहालसहितको टोली त्यहाँ पुगेको हो ।

भरतपुर महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको कार्यक्रममा यस आर्थिक वर्षम केही नमुना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवम् संवाद गरिने जनाइएको छ ।

कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । विद्यालयको सुधारका लागि प्रयाप्त मात्रामा भौतिक पूर्वाधारहरु निर्माण भइसकेकोले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरु अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको जानकारी प्रमुख दाहालको भनाई थियो ।

विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरुलाई आफ्ना जिज्ञासाहरु सहज रुपमा महानगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो ।

शिक्षा क्षेत्रमा ठुलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको थियो ।
जानकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीहरुले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको बताएका थिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । यसले विद्यार्थीको नेतृत्व विकासमा ठुलो सहयोग पुराउने भएकाले भरतपुरका विद्यालयमा प्रमुख, उपप्रमुखहरु पुग्ने उहाँको भनाई थियो ।

कार्यक्रम महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.