बालमैत्री शिक्षण सिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि अभिमुखिकरण

काठमाडौँ । काठमाडौं महानगरपालिकाका सामुदायिक बिद्यालयमा संचालित पूर्व प्राथमिक कक्षाहरुको प्रभावकारी सञ्चालनका लागि प्रधानाध्यापकहरुसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले बालबिकास कक्षा संचालनका लागि शिक्षण सामग्री, बालकक्षा सहजकर्ता शिक्षकको संख्या थप,  सिकाइमैत्री कक्षा कोठा, शिक्षक सहजकर्ता सँगै अभिभावक र शिक्षक दुवैलाई तालिम उपलब्ध गराउनु पर्ने बताएका छन।

पूर्व बाल बिकास र शिक्षामा प्रधानाध्यापकहरुको वुझाइ थाहा पाउन तथा आधारभूत विषयमा साझा धारणा निर्माण गर्न आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रअहरुले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रम आयोजनाका विषयमा जानकारी दिँदै काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य  इञ्जिनियर शैलेन्द्र झाले नीति, रणनीति, कार्ययोजना र प्रतिवद्धतासँग बिद्यालयहरुको अभ्यासका बिचमा देखिएको अन्तर कम गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको गरिएको बताउनु भयो।

काठमाडौं महानगरपालिकाले बालमैत्री शिक्षण सिकाइ र शैक्षिक गुणस्तर सुधारका लागि नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको र यसको प्रभावकारी कार्यान्वयन गरी दिगो विकास लक्ष्य प्राप्त गर्ने क्रियाकलापमा प्रअहरुको भूमिका महत्वपुर्ण हुने उहाँको भनाई थियो।

महानगरले चालु शैक्षिक सत्रमा महानगर गौरवको योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत प्रारम्भिक बाल विकास शिक्षाको स्तरोन्नतिका कार्यक्रमका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाभित्रका ७६ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल शिक्षा र विकासका लागि कस्तो अभ्यास भएको छ भन्ने बिषयमा काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेसनले आधारभूत सर्वेक्षण गरेको रिपोर्ट प्रस्तुत गरिएको थियो ।

विश्वविद्यालयका मास्टर्स इन अर्ली चाइल्डहुड डिभलपमेन्ट कोर्षका संयोजक डा. मीनाक्षी दाहालले रिपोर्ट  विद्यालय बाहिरको वातावरण, शौचालय र हात धुने ठाउँ, कक्षा कोठाको आकार र सिकाइ वातावरण, दिवा खाजाको व्यवस्था, शिक्षकहरुको योग्यता, सिकाइका क्षेत्र र सामग्रीहरुको उपलब्धताका कोणबाट अध्ययन गरिएको बताउनुभयो ।

उहाँकाअनुसार भौगोलिक वनावटका दृष्टिले ३९ प्रतिशत विद्यालय सुरक्षित रहेको, ३२ प्रतिशत सडकसँग जोडिएका , १३ प्रतिशत मन्दिर र बजार क्षेत्रको प्रत्यक्ष सम्बन्धमा रहेका, ८ प्रतिशत पहिरोलगायत प्राकृतिक विपदको जोखिममा रहेको जानकारी दिनुभयो। तस्तै १ प्रतिशत भूकम्पीय जोखिममा रहेको १ प्रतिशत घाट वा मानव अन्त्येष्ठि स्थल नजिक रहेका, १ प्रतिशत जङ्गल नजिक, १ प्रतिशत बाढी प्रभावित क्षेत्रमा, १ प्रतिशत फोहोर व्यवस्थापन हुने स्थल नजिक रहेको बताउनुभयो।

बिद्यालयहरुको बाह्य वातावरण अन्तर्गत ५८ प्रतिशत विद्यालयमा वाह्य क्रियाकलापका लागि खेल मैदान भएको, ४२ प्रतिशतमा खेल मैदान नभएको, भएकामध्ये ३१ प्रतिशत विद्यालयमा पिङ्, चिप्लेटी, टनेल, चाकाचुलीजस्ता खेल सामग्री राखिएको, ६९ प्रतिशतमा त्यो पनि नभएको, २३ प्रतिशत विद्यालयमा बालमैत्री शौचालय उपलब्ध रहेको, ७७ प्रतिशतमा नभएको, शौचालय भएका मध्ये १७ प्रतिशत सफा रहेका तर ८३ प्रतिशत सफा नरहेको रिपोर्ट प्रस्तुत गर्नुभयो। १५ प्रतिशत बिद्यालयमा मात्र हात धुने साबुन राखिएको ८५ प्रतिशतमा नभएको जानकारी दिनुभयो ।  पुर्व प्राथमिक तह देखि नै सुधार ल्यानसके मात्र शिक्षामा गुणात्मक परिवर्तन ल्याउन सकिने उहाँको धारणा थियो ।

कार्यक्रममा पूर्व वाल्यावस्था बिशेषज्ञ जेन क्रिल थम्पसले ४ देखि ५ बर्षसम्म (४८ महिनादेखि ६० महिनासम्म) का बालबालिका यसका लक्षित समूह रहेको बताउनु भयो।

यो उमेर समूहका बालबालिका प्रायः विद्यालय शिक्षा प्रणालीमा आवद्ध भइसक्ने भएकाले यो उमेरका बालबालिकाहरुका लागि मुख्य सिकाइ अवधि रहने भएकाले यसबाट जीवनका पछिल्ला शैक्षिक सिकाइ तथा क्रियाकलापहरु प्रभावकारी हुने उहाँको भनाइ थियो।

अभिमुखीकरणले शिक्षक विद्यार्थीविचको सम्बन्ध, कक्षा कोठासहितको पूर्वाधार साथै समग्र विद्यालयको शैक्षिक वातावरणका लागि काम गर्न महानगरपालिकाले सहयोग जारी राख्नु पर्ने धारणा सहभागी प्रधानाध्यापकहरुले राखेका थिए। कार्यक्रममा शिक्षा अधिकृत मोतिप्रसाद भट्टराई, स्रोत शिक्षकहरुको सहभागीता रहेको थियो। कार्यक्रम शान्ति शिक्षा मन्दिर मा वि स्रोत केन्द्र ठहिटीमा भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.