शरदलाई जिताउन पनौतीले सुरु गऱ्यो संस्थागत पहल

पनौती । मेरो भ्वाइस युनिभर्समा शीर्ष सातौँ स्थानमा पुग्न सफल गायक शरद हुमागाईंलाई जिताउन संस्थागत रुपमै अभियान थालिएको छ । हुमागाईंको गृह नगर पनौती नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै सम्पूर्ण पनौती नगरबासी, नेपाली दाजुभाइ एवं विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई भोट गरि अगाढि बढाउन आग्रह गरेको छ ।

नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै पनौती नगरपालिका २ कुशादेवीका हुमागाईलाई मेरो भ्वाइस युनिभर्समा जिताउन आग्रह गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका प्रमुख रामशरण हुमागाईंले शीर्ष सातौँ स्थानमा पुग्नु पनौती बासीहरुका लागि गौरवको विषय भएको बताए ।

नगरप्रमुख भण्डारीले शरदलाई पहिलो स्थानमा ल्याउन व्यक्तिगत एवं नगरपालिकाको तर्फबाट आग्रह गरेका थिए । पनौतीको नाम उज्यालो पार्ने व्यक्तिलाई सहयोग गर्नु आफ्नो दायित्व भएकोले आफू पनि सहयोग गर्ने र अरुलाई पनि आग्रह गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले एउटा इट्टामा अर्को इट्टा थपे जसरी हातमा हात मिलाएर सहयोग गर्न आग्रह गरिन् ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स ‘ सांगितिक प्रतिस्पर्धात्मक नेपाल सहित विश्वका ५२ देशबाट छानिएका प्रतिस्पर्धी सहभागि भएका थिए । २० वर्षकै उमेरमा गायनमा अगाडि बढेका हुमागाईंलाई मतदान गरेर विजयी बनाइदिन हुमागाईकी आमा विनिता हुमागाईंले आग्रह गर्नुभयो ।

बनेपाको निष्ट कलेजमा स्नातक बिसिए पढ्दै गरेका शरद बाल्यकालदेखि नै गीतसंगीतमा रुचि राख्दथे । शरदलाई दिवंगत बुबाको गायक बनाउने सपना थियो । तर उनी कक्षा १० मा अध्ययनरत हुदाँ नै पिता गुमाउन पुगे । यद्यपी उनले अध्ययन गरेको बचेको समयमा संगीतको रियाज गरेर आफूलाई अभ्यस्त गराएको बताइएको थियो ।

पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले कलासंस्कृति, गीतसंगीतमा गर्व गर्न लायक व्यक्तिहरु नेपालमा उदय भइसकेको बताउनुभयो । सिंगो जिल्ला प्रतिनिधित्व गर्ने भएकाले हुमागाईलाई जिताउनुपर्ने बताउनुभयो । समाचारसँगै आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले बागमती प्रदेशकै प्रतिनिधित्व गरि पनौतीलाई विश्वसामु चिनाउने अभियानमा बढिरहेका हुमागाईलाई साथ आवश्यक रहेको चर्चा गर्नुभयो । शरदलाई अन्तिम चरणसम्म साथ दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिका वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी एवं काभ्रेली सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

शरदलाई जिताउन ‘माइ इन्ट्रा’ एप वा मेरो भ्वाइस युनिभर्सको आधिकारिक वेभ ठेगानामा लगइन गरि आइएमई पे, खल्ती, इसेवा वा पे टिएम मार्फत निःशुल्क, एक भोटदेखि २० हजार भोट हाल्न सकिने व्यवस्था छ । काभ्रेपलाञ्चोक जिल्लाको चम्किलो नक्षत्रको रुपमा आएका शरदलाई सबैको साथको आवश्यकता रहेको छ ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा अर्को रियालिटी’मेरो डान्स युनिभर्स’ को समेत नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.