वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० अर्गानिक खेतीमा जोड़ दिनुपर्छ : राष्ट्रपति पौडेल

बनेपा । वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० सुरु भएको छ । महोत्सवको राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि अब मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताएका छन् । राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता देखेको राष्ट्रपति पौडेलले जनसमुदायलाई भने ।

कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्दछौ उनको भनाई थियो । कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्ने कृषि महोत्सवले भूमिका खेल्ने बताए । काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभविृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । ‘विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकार्डाेजस्ता ‘हाई भ्यालु फ्रुट’को विकासमा जोड दिनु पर्दछ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्धत पुग्छ’, राष्ट्रपति पौडेलले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दा गोड्दै सांसद भएको स्मरण गरे । ‘कृषि नै जीवन हो, जनतालाई पाल्ने काभ्रेका उद्धमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हूँ ।’ पौडेलले आफूले कषि क्रान्तिको कुरा शुरू गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताउनुभयो । उहाँले अहिले रसायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गर्दै भने, ‘हामीले अर्गानिक खेतीमा जोड़ दिनुपर्छ । रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अर्गानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ राष्ट्रपति पौडेलको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका कृषकको जीवनस्तरलाई उकास्ने खालका कार्यक्रमलाई अगाडि बढाउँदै कृषि क्षेत्रलाई महत्वका साथ लिएर काम गरिरहेको बताएका छन् । मुख्यमन्त्री जम्कट्टेलले समुदायमा आधारित उत्पादनको ‘पकेट’ क्षेत्र प्रदेशभित्र लागू गर्ने तयारीमा आफू रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गोकुल बाँस्कोटाले कृषि क्षेत्रलाई आर्थिक विकासको आधार मानेर काम गर्नुपर्नेमा जोड दिए । उनले देशको अर्थतन्त्रलाई उकास्ने माध्यम नै कृषि भएकाले नीति निर्माताले पनि यस क्षेत्रको उन्नयनका निम्ति इमानदार भएर काम गर्नुपर्ने बताएका छन् ।

वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवका संयोजक एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले काभ्रेका किसानहरु समस्यै समस्याबाट अगाडी बढ्नुपरेको बताएका छन । टोपीका घेरा फाटेका, फरियाका घेरा फाटेका किसानहरुलाई अगाडी राखेर किसानहरुको पीडा र व्यथा राष्ट्रपतिलाई व्यक्त गर्न पाउँदा खुसी लागेको उनले बताए ।े काभ्रेपलाञ्चोक जिल्लाको समृद्धिको आधार कृषि मात्रै रहेको उनको भनाई थियो । कृषि उपज बिचौलियाले कब्जा गरेको, दुध सडकमा पोख्नुपर्ने, गोलभेंडा तरकारी सडकमा फाल्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर गौतमले आउने वर्ष काभ्रेपलाञ्चोक जिल्लाले पर्याप्त मल पाएन भने मुख्यमन्त्री र मन्त्रीकोे ढोकामा हामी अनसन बस्ने समेत बताए । वृहत काभ्रे कृषि महोत्सव रचनात्मक आन्दोलन र खबरदारी भएको समेत उनले उद्घोष गरेका छन ।

कार्यक्रममा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले महोत्सव सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभे्रका राजेन्द्र थापा, बद्रिप्रसाद ढुंगाना, रुपेश पाख्रिन र सिन्धुपाल्चोकका दिपककुमार लामिछाने, राजकुमार ढकाल र विनोद प्रदानलाई पुरस्कृत गरे ।

महोत्सवमा कृषकहरुले आफ्नो उत्पादन विक्री वितरण, प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफूले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्न महोत्सवमा इस्टल लिएर प्रदर्शन गरिरहेका छन् । प्याज, लसुन, गोलभेडा, काक्रो, केराउ जस्ता तरकारीबालीहरु, विभिन्न प्रकारका च्याउ, दूध लगायत दूग्ध उत्पादनहरु, घरायसी अचार लगायत कृषि तथा पशुपालनसँग सम्पूर्ण चीजहरु महोत्सवमा प्रदर्शन भइरहेको छ ।

महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुले प्रदर्शन जानकारी दिइरहेका छन् ।

कार्यक्रममा संघीय सांसदहरु, प्रदेश सांसदहरु, १३ वटै स्थानीय तहका प्रमुख उपप्रमुखहरु, उद्योग वाणिज्य संघका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरु, पत्रकारहरु, समाजसेवीहरु, कृषकहरु लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.